Butwal Today

लमही नगरपालिकाले ९५ करोड २१ लाखको बजेट ल्यायो, पूर्वाधार र प्रशासनमा सबैभन्दा बढी प्राथमिकता

९ असार २०८३, मंगलवार
अ+
अ-

लमही । दाङको लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९५ करोड २१ लाख ८७ हजार ४ सय ५४ रुपैयाँ बराबरको बजेट ल्याएको छ।

सङ्घीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक स्रोत तथा बैङ्क मौज्दातलगायत विभिन्न स्रोतबाट प्राप्त हुने आयका आधारमा उक्त बजेट तयार गरिएको हो नगरपालिका  उपमेयर लक्ष्मी  योगीले बताइन्  उपमेयर योगीले मंगलबार  बजेट  सार्वजनिक  गरेकी हुन ।

१९ औँ  नगर सभाको आयोजना  गरि मेयर  जोगराज चौधरीले नीति तथा कार्यक्रम र उपमेयर योगीले बजेट  सार्वजनिक  गरेका हुन।

सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १५ करोड ३५ लाख, सङ्घीय राजश्व बाँडफाँडबाट १६ करोड ७२ लाख १३ हजार, सङ्घीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३१ लाख १० हजार र पुँजीगततर्फ ६३ लाख प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, सङ्घीय समपूरक अनुदानबाट २६ लाख प्राप्त हुने लक्ष्य राखिएको छ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ३ लाख ५५ हजार तथा सवारी साधन करमार्फत हुने राजश्व बाँडफाँडबाट १ करोड ९६ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले आन्तरिक स्रोतबाट ८ करोड ८४ लाख ६३ हजार २५ रुपैयाँ, स्थानीय राजश्व बाँडफाँडबाट १६ करोड ४ लाख ९० हजार, बैङ्क मौज्दातबाट ८ करोड तथा लमही अस्पतालको आन्तरिक स्रोतबाट १ करोड २४ लाख ७७ हजार ४ सय २९ रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएको छ।

जसमा पूर्वाधार विकास समितिअन्तर्गत ३१ करोड ९ लाख ३३ हजार ८ सय ५८ रुपैयाँ विनियोजन गरिएको छ। सार्वजनिक सेवा तथा क्षमता विकास समितिका लागि १८ करोड ९ लाख ३३ हजार १ सय ४२ रुपैयाँ छुट्टाइएको छ भने सामाजिक विकास समितिका लागि १२ करोड २७ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास समितिका लागि ५ करोड ९२ लाख ६७ हजार ४ सय ५४ रुपैयाँ तथा विपद् व्यवस्थापन समितिका लागि १ करोड १ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १६ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक विस्तार, स्तरोन्नति, पक्की नाली, पुल, कल्भर्ट, सिँचाइ तथा खानेपानी लगायत पूर्वाधार विकासका लागि १३ करोड ९२ लाख रुपैयाँ छुट्टाइएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षाको विस्तारका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी हुन बाँकी आयोजनाका लागि ४ करोड ५० लाख तथा सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारी सुनिश्चित गर्न समपूरक कोषमा १ करोड ५० लाख रुपैयाँ राखिएको छ।

क्रमागत आयोजनाका लागि २ करोड ३० लाख, विपद् व्यवस्थापन कोषका लागि ७० लाख, कृषि विकास शाखाका लागि १ करोड, ‘जनतासँग मेयर कार्यक्रम’ र ‘जनतासँग उपमेयर कार्यक्रम’ का लागि जनही १/१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न लमही अस्पतालका लागि १ करोड ५० लाख तथा नगर स्वास्थ्य केन्द्र सञ्चालन र खोप कार्यक्रम विस्तारका लागि स्वास्थ्य शाखामा ७७ लाख ५० हजार रुपैयाँ छुट्टाइएको छ।

पशु विकास शाखाका लागि ५७ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका लागि ५० लाख, सुशासन तथा संस्थागत विकास शाखाका लागि ४२ लाख तथा सहकारी शाखाका लागि १२ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सूचना प्रविधि शाखामार्फत अनलाइन सेवा विस्तार तथा सिसिटिभी क्यामेराको मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ। लघु उद्यम विकास कार्यक्रम (मेड्पा) तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनका लागि समेत बजेट छुट्टाइएको छ।

त्यसै गरी, वडा नं. १ देखि ९ सम्मका नागरिकका आवश्यकता र माग सम्बोधन गर्न प्रत्येक वडाका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आन्तरिक राजश्व लक्ष्यअनुसार सङ्कलन हुन नसकेका कारण सबै क्षेत्रलाई समेट्न नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट कृषि तथा पशुपालन क्षेत्रमा सहुलियत, नागरिकको आवश्यकताअनुसार पूर्वाधार निर्माण, स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय सेवा विस्तार तथा न्यायपूर्ण समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरेको छ।

लमही नगरपालिकाले वित्तीय सुधार, आर्थिक अनुशासन, कर चुहावट नियन्त्रण तथा प्राकृतिक स्रोतको संरक्षणमार्फत सुन्दर, समृद्ध र आत्मनिर्भर नगर निर्माण गर्ने विश्वास व्यक्त गर्दै बजेट निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्‍याउने नगर सभा सदस्य, कार्यपालिका सदस्य, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, नागरिक समाज, व्यवसायी, कर्मचारी तथा सञ्चारकर्मीप्रति धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?