Butwal Today

हराउँदै गएको थारु पहिचान: भित्ताका चित्रबाट नयाँ पुस्तासम्म संस्कृति हस्तान्तरण

८ असार २०८३, सोमबार
अ+
अ-

नेपालगन्ज । थारु बस्तीका माटोले लिपिएका घरका भित्ता, काठका ढोका र सामुदायिक भवनहरूमा कुँदिएका चित्रहरू कुनै समय गाउँको सौन्दर्य मात्र थिएनन्, ती थारु समुदायको इतिहास, संस्कृति, जीवनशैली र सामूहिक स्मृतिका जीवित दस्ताबेज थिए ।

भित्तामा कोरिएका ती चित्रहरूले जन्मदेखि मृत्युसम्मका संस्कार, खेतीपाती, प्रकृतिसँगको सम्बन्ध, पर्व–उत्सव र सामुदायिक जीवनका कथाहरू बोल्थे । तर समयको परिवर्तनसँगै परम्परागत माटो र खरका छाना भएका घरहरू कङ्क्रिटका आधुनिक भवनमा रूपान्तरण हुन थालेपछि थारु लोक चित्रकला पनि बिस्तारै लोप हुने जोखिममा पुगेको छ ।
यही मौलिक सम्पदालाई जोगाउन र नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पर्यटन कार्यालय कोहलपुरले संरक्षण अभियान सुरु गरेको छ । बाँके र बर्दियाका थारु बस्तीहरूमा सञ्चालन गरिएको यस अभियानले हराउँदै गएको लोक चित्रकलालाई पुनर्जीवित गर्ने आशा जगाएको छ ।

बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेमा सञ्चालन गरिएको १० दिने थारु लोक चित्रकला प्रशिक्षणमा ६० जना युवायुवती सहभागी भए । प्रशिक्षणमा सहभागीहरूले आफ्नै समुदायका अग्रज कलाकार तथा अभिभावकहरूबाट थारु लोक चित्रकलाको सीप सिक्ने अवसर पाए । बालबालिकादेखि युवा र प्रौढसम्मको सहभागिताले यो अभियानलाई थप उत्साहजनक बनाएको छ ।

थारु समुदायका अभियन्ता तथा प्रशिक्षणका प्रशिक्षक सोम डेमन्डौराका अनुसार भित्तामा कोरिएका चित्रहरू केवल कलाका नमुना होइनन्, ती थारु समुदायको पहिचान र इतिहासका अमूल्य सम्पदा हुन् । “यी चित्रहरूमा हाम्रो जीवन, संस्कृति, परम्परा र इतिहास लुकेको छ,” उनले भने, “यदि आजको पुस्ताले यसलाई सिकेन भने भोलिका दिनमा यो सम्पदा केवल तस्बिर र पुस्तकमा सीमित हुन सक्छ । त्यसैले संरक्षणसँगै पुस्तान्तरण पनि आवश्यक छ।”

उनका अनुसार प्रशिक्षणमा सहभागीहरूलाई चित्रकलाको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान मात्र नभई यसको सांस्कृतिक महत्वबारे समेत जानकारी दिइएको थियो । पुराना पुस्ताले चित्रमा समेटिएका अर्थ र सन्देशबारे अनुभव सुनाउँदा नयाँ पुस्ताले त्यसलाई ध्यानपूर्वक सिकेका थिए । यसले पुस्ताबिच ज्ञान र अनुभवको आदानप्रदानको अवसर पनि सिर्जना गरेको छ ।

तालिमका अर्का प्रशिक्षक तथा गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार गाभर भ्याली होमस्टे केवल पर्यटकीय गन्तव्य मात्र नभई सिकाइ केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । यहाँ प्रकृति, कृषि, संस्कृति र स्थानीय जीवनशैलीबारे अध्ययन गर्न आउने आन्तरिक तथा बाह्य आगन्तुकहरूको सङ्ख्या बढ्दै गएको छ ।

“यस पटकको प्रशिक्षणमा ७ वर्षका बालबालिकादेखि ५४ वर्षसम्मका सहभागी थिए,” चौधरीले भने, “तीन पुस्ता एउटै स्थानमा बसेर आफ्नो संस्कृति सिकिरहेको दृश्य निकै प्रेरणादायी थियो ।” उनका अनुसार प्रशिक्षणले सहभागीहरूमा आफ्नो इतिहास र संस्कृतिलाई चित्रमार्फत अभिव्यक्त गर्ने उत्साह जगाएको छ ।

प्रशिक्षणमा सहभागी राप्ती सोनारी गाउँपालिका–३ का महेश चौधरीले बाल्यकालदेखि घरको भित्तामा यस्ता चित्र देखे पनि त्यसको अर्थ र महत्त्व बुझ्ने अवसर पहिलो पटक पाएको बताए । “पहिले यी चित्र केवल सजावट हुन् भन्ने लाग्थ्यो,” उनले भने, “तर अहिले यसको इतिहास र सन्देश बुझ्न पाएँ । मैले सिकेको सीप अब अरूलाई पनि सिकाउने छु ।”

यो अभियानमा थारु समुदायका युवायुवती मात्र होइन, अन्य समुदायका युवाहरूले पनि रुचिपूर्वक सहभागिता जनाएका छन् । बैजनाथ गाउँपालिका–१ गाभरकी तुलसी ओलीले थारु संस्कृति र कलाबारे जान्ने उत्सुकताका कारण प्रशिक्षणमा सहभागी भएको बताइन् । “चित्रमार्फत थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार बुझ्ने अवसर पाएँ,” उनले भनिन्, “यो केवल चित्रकला सिक्ने कार्यक्रम होइन, एउटा समुदायको जीवन र इतिहास बुझ्ने माध्यम पनि रहेछ ।”

पर्यटन कार्यालय कोहलपुरले बाँकेमा प्रशिक्षण सम्पन्न गरे लगत्तै बर्दियाको सतखल्वामा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विशेष गरी विद्यालयमा अध्ययनरत बालबालिका र किशोर किशोरीलाई लक्षित गर्दै सञ्चालन गरिने यस्ता कार्यक्रमले थारु कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

विज्ञहरूका अनुसार कुनै पनि समुदायको पहिचान केवल भाषा र वेशभूषामा मात्र सीमित हुँदैन, त्यसका कला, संस्कृति र परम्परागत ज्ञानमा पनि उत्तिकै गहिरो रूपमा प्रतिबिम्बित हुन्छ। थारु लोक चित्रकला त्यही पहिचानको महत्त्वपूर्ण हिस्सा हो । आधुनिकताको तीव्र प्रभावका बिच हराउँदै गएको यो मौलिक सम्पदालाई संरक्षण गर्न यस्ता अभियानहरू अत्यन्त आवश्यक देखिएका छन् ।

भित्तामा कोरिएका ती चित्रहरू केवल रेखा र रङ्गको संयोजन होइनन्, ती थारु समुदायको इतिहास बोल्ने अक्षरहरू हुन् । आजको पुस्ताले ती अक्षरहरू पढ्न र बुझ्न थालेको छ, जसले भविष्यमा थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नयाँ आशा जगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?