Butwal Today

गर्मी छल्न नरपानीको शरण

८ असार २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची  ।  नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् ।

पछिल्लो समय यहाँ भारत तथा नेपालका तराईका जिल्लाबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश,विहार विभिन्न क्षेत्रबाट मानिसहरू आउने गरेका छन् ।

तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउँदा घुम्न आउने पर्यटकहरू पनि प्रफुल्लित हुने गरेका छन् । भारतका उत्तर प्रदेश, विहार लगायत नेपालका कपिलवस्तु, रुपन्देही, दाङ,नवलपरासी, बाँके,नवलपुरबाट गर्मी छल्न आउनेहरूको भीड लाग्ने गरेको छ ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलको रूपमा विकसित हुँदै गएको छ । गत वर्षदेखि दैनिक रूपमा १० देखि ५० वटा समूहहरू आउने गर्दछन् । शनिबारको दिन यहाँ झन्डै दुई सय समूह सम्म आउने गरेको वडा अध्यक्ष श्रीधर महत्राले बताए ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानी पर्छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन् । सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा पाठीहरू लिएर नरपानीमा वनभोज खाने गर्दछन् ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सहज यातायात पहुँचका कारण नरपानीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकको बढ्दो आगमनसँगै यहाँ होटल, लज तथा रेष्टुरेन्ट सञ्चालन गर्ने क्रम पनि उल्लेखनीय रूपमा बढेको छ । पर्यटन गतिविधि बढेसँगै स्थानीय व्यवसायीहरूले होटल तथा आतिथ्य क्षेत्रमा लगानी बढाउन थालेका छन् ।

पछिल्ला केही वर्षयता नरपानी क्षेत्रमा नयाँ होटल, लज, क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् भने केही निर्माणाधीन अवस्थामा रहेका छन् । यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि पनि चलायमान बनाएको सन्धिखर्क–७ का वडा अध्यक्ष चुरा बहादुर केसीले बताएका छन् ।

स्थानीय व्यवसायीहरूका अनुसार नरपानीमा आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक सुविधा सम्पन्न आवास तथा भोजन सेवाको विस्तार भइरहेको छ । पारिवारिक भ्रमण, धार्मिक यात्रा तथा छोटो विश्रामका लागि नरपानी उपयुक्त गन्तव्य बन्दै गएको उनीहरूको भनाइ छ ।

पर्यटन व्यवसायसँगै स्थानीय कृषि उत्पादन, हस्तकला तथा अन्य साना व्यवसायले समेत बजार पाउन थालेका छन् । यसले ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र बढ्दो व्यावसायिक गतिविधिको संगम बनेको नरपानी अहिले अर्घाखाँचीको उदीयमान पर्यटन केन्द्रका रूपमा चिनिन थालेको छ । यहाँ वरिपरि हरियाली डाँडा छ । बिचमा समथर भू–भाग पनि रहेको छ ।

भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुह प्रशासकीय अधिकृत प्रमोद खनालले बताएका छन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बिच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ ।

कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजा आज गर्ने गरेकोमा अहिले आएर दैनिक पाँच सयदेखि तीन हजार जनासम्मले दर्शन गर्ने गरेको र शनिबार कुनै दिन १० हजार सम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश थापाले बताए ।

मन्दिर दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत पर्यटक सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर बन्दै गएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?