© 2026
चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ ।
रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उनको भनाइ छ ।
महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि सहभागीहरूलाई पिउने पानी, छाता तथा हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ ।
महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने र अन्य शुभेच्छुक तथा कार्यकर्तासमेत आउने भएकाले उनको भनाइ छ ।
रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमले जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी रहेको बताए । उनका अनुसार चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सुलभ दररेट कायम गरिएको छ र त्यससम्बन्धी जानकारी सहभागीहरूलाई उपलब्ध गराइएको छ ।
सहभागीहरूले आफ्नो रुचिअनुसार होटल बुकिङ गरिसकेको जानकारी दिँदै उनले महाधिवेशनस्थलमै खानाको व्यवस्था गरिने बताए । गौतमका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकमध्ये करिब ८० प्रतिशतले होटल बुकिङ गरिसकेका छन् । महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान गरिएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकलाई लक्षित गरी चितवनका होटलहरूले विशेष छुटको व्यवस्था गरेका छन् । होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने भएका हुन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको छ ।
घाम पानी रोक्न जर्मन ह्याङ्गर
भरतपुरमा यतिबेला गर्मीको मौसम छ । महाधिवेशन स्थलमा चर्को घाम र हुनसक्ने वर्षाबाट बच्न उद्घाटन स्थलमा जर्मन ह्याङ्गर प्रयोग गरिएको छ । भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, परिवेक्षक र नेता कार्यकर्ताका लागि ३० हजार स्क्वायर फिटको जर्मन ह्याङ्गर जडान गरिएको हो ।
मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराइका अनुसार बीचमा २० फिट चौडाई र ७५ फिट लम्बाईको छानो भएको ह्याङ्गर जडान गरिएको छ । दुवैतर्फ २० फिट लम्बाई र ३० फिट चौडाईका एक–एक वटा ह्याङ्गर जडान गरिएको छ । ती ह्याङ्गर बीचमा २४ फिट र छेउ छेउमा १४ फिट अग्ला छन् । यो संरचनामा १५ हजार जना अट्ने भट्टराई बताउछन् । अन्य खाली ठाउँमा प्यागोडा शैलीका क्यानोपी टेण्ट राखिने छ ।
जर्मन ह्याङ्गरभित्र महिला, जेष्ठनागरिक र असहायका लागि दुई हजारको हाराहारीमा कुर्सी राखिनेछ । बाँकी ठाउँमा चौरमा बस्ने व्यवस्था गरिनेछ । चार वटा एलईडी स्क्रिन पनि जडान गरिनेछ ।
जर्मन ह्याङ्गर अस्थायी किसिमको बलियो टेन्ट हो । भट्टराईले भने, “ह्याङ्गर अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो राखेर बनाइएको हुन्छ ।” यो आगलागी नहुने घामपानी, हुरीबतासबाट जोगिने किसिमको भएको उनले जानकारी दिए ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा ३० हजार हाराहारीमा सहभागी हुने अनुमान छ । उद्घाटनका दिन आउनेहरुका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।
पूर्वबाट आउने सवारी साधनलाई केन्द्रीय बस ट्रमिनल र अन्य क्षेत्रबाट आउने सवारी साधन वीरेन्द्र बहुमुखी क्याम्पसको बाइपास सडकतर्फको चौरमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए ।