Butwal Today

देशव्यापी आन्दोलन, भैरहवामा पत्रकारहरूको धर्ना

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

भैरहवा । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारमाध्यमको स्वायत्ततामाथि हस्तक्षेप हुने गरी सरकारले हालै गरेका निर्णय र सञ्चारसम्बन्धी नीति तथा कानुनको विरोधमा नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलन सुरु गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत मंगलबार रुपन्देहीका पत्रकारहरूले भैरहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजनामा भएको धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने, सञ्चारमाध्यम माथिको नियन्त्रणमुखी सोच अन्त्य गर्नुपर्ने तथा सूचनाको हक सुनिश्चित गर्नुपर्ने माग गरेका थिए ।

पत्रकारहरूले सरकारद्वारा लागू गरिएका सूचना तथा विज्ञापनसम्बन्धी निर्णयहरू संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र पूर्ण प्रेस स्वतन्त्रताको भावना विपरीत रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले सञ्चारमाध्यमको आर्थिक स्वायत्तता कमजोर पार्ने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने उद्देश्यले यस्ता निर्णय ल्याइएको आरोप लगाए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष राम प्रसाद आचार्यले सरकारले ल्याएको सञ्चारसम्बन्धी नयाँ ऐन, कानुन तथा नीति प्रेस स्वतन्त्रता विरोधी रहेको टिप्पणी गरे । मिडियालाई नियन्त्रण गर्ने र पत्रकारलाई तर्साउने उद्देश्यका साथ नीति ल्याइएको आरोप लगाउँदै उनले सञ्चार क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन नसके पत्रकारहरूले स्वतन्त्र रूपमा काम गर्न नसक्ने बताए ।

उनले सङ्घीयताको मर्मलाई समेत बेवास्ता गर्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई समेत पर्याप्त जानकारी नदिई सामान्य पत्रका आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिएको दाबी गरे । यस्तो विभेदकारी निर्णयले सङ्घीय शासन प्रणालीको अभ्यासमै नकारात्मक असर पार्ने उनको भनाइ थियो ।

यसैबिच, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले सरकारको पछिल्लो कदमलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको आरोप लगाउँदै ‘निर्वाचित निरङ्कुश शासक’ को शैलीमा सरकार अघि बढिरहेको टिप्पणी गरे । जिल्ला प्रशासन कार्यालयमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी सञ्चारमाध्यमहरूलाई विज्ञापनबाट वञ्चित गर्ने प्रयास संविधानको भावना र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको बताए ।

उनले अधिकृत स्तरबाट भएको एउटा निर्णयले प्रदेश र स्थानीय तहसम्म प्रभाव पार्दै सञ्चार क्षेत्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गरे ।  नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सरकार मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने र अन्ततः बन्द गराउने गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाए ।

सरकारका पछिल्ला गतिविधिहरू बाहिरबाट सामान्य देखिए पनि भित्री रूपमा सञ्चार क्षेत्रलाई धराशायी बनाउने उद्देश्यले अघि बढाइएको उनको दाबी थियो ।

“सञ्चारमाध्यम लोकतन्त्रको बलियो आधार स्तम्भ हो । मिडिया नहुने हो भने सरकार अझ बढी निरङ्कुश बन्न सक्छ,” अध्यक्ष पाण्डेले भने । उनले सरकारका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी नीति तथा निर्णय तत्काल खारेज नगरे देशव्यापी रूपमा थप सशक्त आन्दोलन गरिने चेतावनी दिए ।

महासङ्घले प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र स्वतन्त्र पत्रकारितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गर्दै आन्दोलनमा सञ्चारमाध्यम सञ्चालक, पत्रकार तथा लोकतन्त्र प्रेमी सम्पूर्ण नागरिकलाई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

महासङ्घका सचिव सिपी खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार विनोद परियार, टेलिभिजन प्रसारक सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?