Butwal Today

विद्यार्थी प्रतिभा उजागर गर्न कविता लेखन र स्मरण प्रतियोगिता

२५ जेष्ठ २०८३, सोमबार
अ+
अ-
भैरहवा । विद्यार्थीहरूको सृजनशीलता, बौद्धिक क्षमता तथा अभिव्यक्ति कौशल विकास गर्ने उद्देश्यले सामूहिक विद्यालय परिवार रुपन्देहीले कविता लेखन तथा स्मरण खेल प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबिच “आमाको माया” विषयमा कविता लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
छात्रा समूहमा युनिभर्सल पब्लिक स्कुलकी प्रमिला घिमिरे प्रथम, मिनर्वा हाई स्कुलकी लिजा गुरुङ द्वितीय, नमुना इङ्लिस बोर्डिङ स्कुलकी जेसिका राना तृतीय तथा लुम्बिनी विज्डम स्कुलकी कृति हरिजनले सान्त्वना स्थान प्राप्त गरिन् ।
त्यसैगरी कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूका लागि “मेरो विद्यालय” विषयमा कविता लेखन प्रतियोगिता आयोजना गरिएको थियो । छात्रतर्फ फ्लोर स्कुलका रामवरण यादव प्रथम, सञ्जिवनी शिक्षा सदनका सञ्जय सरकार द्वितीय, एभरग्रिनका राजकुमार गुप्ता तृतीय तथा नमुना इङ्लिस बोर्डिङ स्कुलका जेनिक थापाले सान्त्वना स्थान हासिल गरे ।
स्मरण खेल प्रतियोगितामा छात्रातर्फ सञ्जिवनी शिक्षा सदनकी सबनम खातुन प्रथम, नेपाल नालन्दा माध्यमिक विद्यालयकी कृपा क्षेत्री द्वितीय, मिनर्वा हाई स्कुलकी आस्मा अर्याल तृतीय र नमुना इङ्लिस बोर्डिङ स्कुलकी सेज सारुले सान्त्वना स्थान प्राप्त गरिन् । छात्रतर्फ एभरेष्ट मोर्डन इङ्लिस स्कुलका विवेक यादव प्रथम, नेपाल नालन्दा हाई स्कुलका प्रिन्स यादव द्वितीय, सञ्जिवनी शिक्षा सदनका सउजर्न अधिकारी तृतीय तथा युनिभर्सल पब्लिक स्कुलका मनिष बस्नेत सान्त्वना घोषित भए ।
तोलोत्तमानगर नगरपालिका उपप्रमुख जागेश्वरी देवी चौधरीले यस्ता सिर्जनात्मक तथा बौद्धिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै सिर्जनात्मक र व्यवहारिक सीप विकासमा समेत ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णुप्रसाद पन्थीले संस्थाको रजत जयन्ती वर्षको अवसरमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार संस्थाले विगतदेखि नै विद्यार्थीकेन्द्रित गतिविधिलाई निरन्तरता दिँदै आएको छ। प्रतियोगिताको अघिल्लो दिन विद्यार्थी तथा शिक्षकहरूका लागि कविता लेखन सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको र सोही प्रशिक्षणबाट प्राप्त ज्ञान तथा सीपको मूल्याङ्कन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रशिक्षक तथा निर्णायक कवि पुरुषोत्तम पराजुलीले विद्यार्थीहरू नै राष्ट्रका भविष्यका कर्णधार भएको उल्लेख गर्दै साहित्य, सिर्जना र अभिव्यक्तिमूलक गतिविधिले उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए । उनले निरन्तर अभ्यास र अध्ययनमार्फत उत्कृष्ट सिर्जनाकार बन्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका निवर्तमान अध्यक्ष समदास इद्रिसीले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, कार्यक्रम संयोजक बसन्त पाण्डे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कमल कोइरालाले गरेका थिए। कार्यक्रमको अन्त्यमा विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान, सिर्जनात्मक क्षमता विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?