Butwal Today

रुपन्देही क्रिकेट सङ्घको अध्यक्षमा हरि बहादुर थापाको उम्मेदवारी घोषणा

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

भैरहवा । रुपन्देही क्रिकेट सङ्घको आगामी अधिवेशनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष हरि बहादुर थापाले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा थापाले विगत चार वर्षको कार्यकालमा सुरु गरिएका योजनाहरूलाई पूर्णता दिन तथा रुपन्देही क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन आफू पुनः नेतृत्वमा आउन आवश्यक रहेको बताएका हुन् ।

थापाले सङ्घका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको आग्रहपछि उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गर्दै कार्यसमितिको अन्तिम बैठकमा सबैले आफूलाई “रुपन्देही क्रिकेटका लागि आवश्यक व्यक्ति”  भएको निष्कर्ष निकालेको बताए। उनले हालसम्म सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयासमा रहेकाले सार्वजनिक रूपमा उम्मेदवारी घोषणा नगरेको पनि स्पष्ट पारे।

पत्रकार सम्मेलनमा उनले अध्यक्ष पदका अर्का आकाङ्क्षी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचनप्रति प्रशासनिक अनुभवको आवश्यकता औँल्याए।

गौचनलाई कार्यसमितिमा रहेर अनुभव हासिल गर्न आफूहरूले प्रस्ताव गरेको बताउँदै थापाले एक कार्यकाल सङ्घभित्र काम गरेपछि आगामी कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने प्रस्ताव समेत राखिएको बताए।

“शक्ति गौचन क्रिकेटका उत्कृष्ट खेलाडी हुन्। उहाँको क्षमता र योगदानमा कुनै प्रश्न छैन। तर सङ्घ सञ्चालन र प्रशासनिक नेतृत्वका लागि अनुभव पनि आवश्यक हुन्छ,” थापाले भने ।

आफ्नो आगामी कार्यकालको प्रमुख योजना सार्वजनिक गर्दै थापाले रुपन्देही क्रिकेट सङ्घलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने घोषणा गरे। उनका अनुसार आगामी साउन १ गतेदेखि सङ्घमा विशेष सफ्टवेयर प्रणाली लागू गरिनेछ, जसबाट सम्पूर्ण खेलाडीको विवरण, खेलको अभिलेख, आर्थिक कारोबार तथा प्रशासनिक गतिविधि डिजिटल प्रणालीमा व्यवस्थापन गरिनेछ। यसले सङ्घको कार्यसम्पादनलाई थप पारदर्शी र व्यवस्थित बनाउने उनको विश्वास छ।

थापाले रुपन्देहीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘नम्बर वान’ जिल्ला घोषणा गरिसकेको उल्लेख गर्दै अब राष्ट्रिय प्रतियोगिता मात्र नभई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्ने पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिने बताए।

उनले सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका रूपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताए। हाल रङ्गशालाको क्षेत्रफल ठुलो भए पनि सीमित भागमा मात्रै बाउन्ड्री निर्माण गरिएको भन्दै बाँकी क्षेत्र व्यवस्थित गर्न बजेट व्यवस्थापन र आवश्यक संरचना निर्माणमा जोड दिइने जानकारी दिए। खेलाडीहरूको अभ्यास, फिटनेस तथा प्रशिक्षणका लागि छुट्टै पूर्वाधार निर्माण गर्ने योजना समेत उनले सार्वजनिक गरे।

सिद्धार्थ रङ्गशाला मात्र नभई जिल्लाका अन्य क्षेत्रका क्रिकेट पूर्वाधारको विकासमा पनि सङ्घले प्राथमिकता दिने थापाले बताए। उनले देवदह र सैनामैना क्षेत्रका खेल मैदानहरूको स्तरोन्नतिका लागि स्थानीय सरोकारवालासँग छलफल भइसकेको जानकारी दिँदै आवश्यक कागजात तयारीदेखि माथिल्लो निकायमा पहलसम्म सङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाए।

रुपन्देही क्रिकेटको संस्थागत विकास, आधुनिक प्रशासनिक प्रणाली र अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणका लागि आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्दै थापाले आगामी अधिवेशनमा पुनः अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?