Butwal Today

रोहिणी गाउँपालिकामा जनप्रतिनिधिबिच विवाद: छलफल हुँदै गर्दा कुटाकुट 

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा नप्रतिनिधिबिचको आन्तरिक विवाद सार्वजनिक रूपमा कुटाकुटसम्म पुगेपछि स्थानीय तहको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।

विद्यालय व्यवस्थापन र शिक्षक सरुवाजस्तो संवेदनशील विषयमा समाधान खोज्न बसेको बैठक नै विवादको थलो बनेपछि जनप्रतिनिधिहरूको जिम्मेवारी र कार्यशैलीप्रति स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।

रोहिणी गाउँपालिका–२ स्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक सरुवाको सहमति तथा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर गाउँपालिका अध्यक्ष विद्या यादव र वडा नम्बर २ का अध्यक्ष कारम हुसेन खानबिच चर्किएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो । घटनामा स्थानीय कान्छा कोहार घाइते भएका छन् ।

घटनापछि दुवै पक्षले आ–आफ्नो दाबी सार्वजनिक गरेका छन् । वडा अध्यक्ष कारम हुसेन खानले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालासहितको बैठक चलिरहेको बेला कान्छा कोहार जबरजस्ती बैठकमा प्रवेश गरी आफूमाथि हातपात गरेको आरोप लगाए । उनले आफूले आत्मरक्षाका लागि मात्र प्रतिकार गरेको दाबी गरे ।

“बैठकको वातावरण बिगार्ने गरी कोहार बैठकमा पसे । उहाँले पहिले मलाई हात हाल्नुभयो, त्यसपछि मैले प्रतिकार गरेको हुँ,” वडा अध्यक्ष खानले भने ।

तर गाउँपालिका अध्यक्ष विद्या यादवले वडा अध्यक्षको दाबी अस्वीकार गर्दै स्थानीय नागरिकमाथि अनावश्यक रूपमा हातपात गरिएको बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिको गठन र शिक्षक सरुवासम्बन्धी विषयमा छलफल भइरहेका बेला विवाद बढेको थियो ।

“कुनै पनि नागरिकमाथि जनप्रतिनिधिले हात उठाउने अधिकार हुँदैन । विवाद भए पनि संवादबाट समाधान खोज्नुपर्ने हो,” अध्यक्ष यादवले भने
कुटपिटबाट घाइते भएका कान्छा कोहारको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) शिक्षण अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।

स्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा केही समयदेखि वडा तह र गाउँपालिका नेतृत्वबीच मतभेद रहँदै आएको थियो । त्यसैको असर बैठकमा देखिएको बताइएको छ । वडा अध्यक्ष र पालिका अध्यक्ष बिच यस अघि पनि पटक पटक विवाद हुँदै आएको छ ।

घटनाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । जनताका समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य र विकासका मुद्दामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने जनप्रतिनिधिहरू नै सार्वजनिक रूपमा विवाद र कुटाकुटमा उत्रिनु दुःखद भएको स्थानीयको भनाइ छ ।

स्थानीय तहमा बढ्दो शक्ति सङ्घर्ष, व्यक्तिगत अहङ्कार र संस्थागत प्रक्रियाप्रतिको बेवास्ताले यस्ता घटना बढ्दै गएका छन् । विद्यालय व्यवस्थापन समिति गठनजस्तो विषय पनि राजनीतिक प्रभाव र शक्ति प्रदर्शनको माध्यम बन्न थालेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले जनप्रतिनिधिलाई संयमित, उत्तरदायी र कानुनी दायराभित्र रहेर काम गर्नुपर्ने दायित्व दिएको छ । तर रोहिणी गाउँपालिकामा भएको यो घटनाले जनप्रतिनिधिहरू आफैँ कानुनी र नैतिक जिम्मेवारीबाट विचलित भएको सङ्केत गरेको छ ।

स्थानीयवासीले भने जनप्रतिनिधिहरूले व्यक्तिगत विवाद र शक्ति सङ्घर्षभन्दा माथि उठेर शिक्षा, विकास र जनसेवाका मुद्दामा केन्द्रित हुनुपर्ने माग गरेका छन् । विद्यालयको समस्या समाधान गर्न बसेको बैठक कुटाकुटमा परिणत हुनु स्थानीय शासनको कमजोर पक्षको रूपमा हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?