Butwal Today

लुम्बिनी बुद्ध कप महिला क्रिकेटको उपाधि रुपन्देहीलाई

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

भैरहवा । प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता “लुम्बिनी बुद्ध कप” को उपाधि रुपन्देहीले जितेको छ। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा सिद्धार्थ क्रिकेट रङ्गशालामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा दाङलाई पराजित गर्दै रुपन्देहीले जित आफ्नो बनाएको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा ९५ रन बनाउँदै रुपन्देहीसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको रुपन्देहीले उत्कृष्ट प्रदर्शन गर्दै ११ ओभरमै लक्ष्य पूरा गरी सहज जित हासिल गरेको थियो ।

प्रतियोगिताको उपाधिसँगै रुपन्देहीले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता दाङले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

फाइनल खेलकी नायिका एन्जिला पाठक (एन्जी) बनिन् । उनले फाइनलमा शानदार ५१ रनको योगदान दिँदै टोलीलाई जित दिलाइन्। उत्कृष्ट प्रदर्शनकै आधारमा एन्जिला प्लेयर अफ द म्याच, बेस्ट ब्याटर तथा प्लेयर अफ द सिरिज घोषित भइन् । प्रतियोगिताकी बेस्ट बलर सिता गिरी घोषित भइन् ।
समापन समारोहमा पुरस्कार वितरण गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले महिला क्रिकेटको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र लगानीलाई निरन्तरता दिने बताएका छन् । उनले यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका प्रमुख हरि बहादुर विष्टले खेलकुद क्षेत्रको विकास सामाजिक रूपान्तरणसँग जोडिएको बताउँदै महिला सहभागिता बढाउन यस्ता प्रतियोगिता प्रभावकारी हुने धारणा राखे। उनले खेलकुदमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउन सकिने पनि उल्लेख गरे ।

क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले प्रतियोगिताको सफल आयोजनाले प्रदेशमा महिला क्रिकेटप्रतिको आकर्षण बढेको बताए। यसै गरी सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोलप्रसाद पोखरेलले खेलकुद क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्दै महिला खेलाडीहरूको क्षमता अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, क्रिकेट सङ्घ रुपन्देहीका अध्यक्ष हरि थापा, क्यानका पूर्व सदस्य प्रशान्त विक्रम मल्ल, राष्ट्रिय क्रिकेट प्रशिक्षक विनय शाही, रुपन्देही क्रिकेट सङ्घका सल्लाहकार विनय ज्ञवाली लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले प्रदेशमा महिला क्रिकेटको विकास, खेलाडी उत्पादन तथा खेलप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?