© 2026
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिकको सेवा सञ्चालनमा आएको छ ।
सङ्घीय सरकारले जेनजी आन्दोलन पछि करार कर्मचारीको दरबन्दीमा कटौती र वितरणमुखी कार्यक्रममा रोक लगाए सँगै सञ्चालनमा आउन नसकेको मोबाइल स्वास्थ्य क्लिनिकको सेवालाई आवश्यक कर्मचारीको व्यवस्थापन पछि मंगलबार देखी सञ्चालनमा ल्याइएको हो ।
एक कार्यक्रमका बिच नगर प्रमुख सुदिप पौडेलको स्वास्थ्य परीक्षण गरी नगरपालिकाले सेवाको शुभारम्भ गरिएको छ । २०८२ साल बैशाख १२ गते नगरपालिकालाई पालिका भर घुम्ती सामुदायिक स्वास्थ्य क्लिनिकको सेवा प्रवाह गर्ने उद्देश्यका लागि सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गरिएको थियो ।
बुद्धिस्ट चुजी च्यारेटी फाउण्डेशन उपाध्यक्ष युपि लिन सहितको टोलीले कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेललाई क्लिनिक भ्यानको साँचो हस्तान्तरण गरेका थिए । तर सङ्घीय सरकारको खर्च कटौतीको परिपत्रका कारण सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो ।
वातानुकूलित भ्यानमा सञ्चालित क्लिनिकमा एमबिबिएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियन सहितको टोली खटिएका छन् । शिविरमा ६० वर्ष काटेका नागरिकहरूको ब्लड सुगर ब्लड प्रेसर र पिसाब जाँच हुने छ ।
१२ वडा वार्ड रहेको नगरपालिकामा प्रत्येक वडामा स्वास्थ्य क्लिनिकबाट दुई दिनका दरले सञ्चालन हुनेछ । मङ्गलबार क्लिनिक कपिलवस्तु नगरपालिका वडा नम्बर १२ को बिटुवा गाउँमा सञ्चालन गरिएको छ ।
क्लिनिक सेवाले कपिलवस्तु नगरपालिकाका ६० वर्ष काटेका नागरिकहरूको स्वास्थ्य उपचार सेवामा केही सहजता हुने अपेक्षा गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले यो क्लिनिक सेवाले नागरिकहरूले आफ्नो गाउँ ठाउँमै सेवा पाउने बताए ।
नगरका कतिपय बस्तीमा स्वास्थ्य सेवा नपुगेको र कतिपय स्वास्थ्य चौकीमा प्रयोगशालाको अभाव रहेका अवस्थामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनमा सहयोग पुर्याउने नगर प्रमुख सुदिप पौडेलले बताए ।
उनले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउन सहयोग गर्ने उद्देश्यले फाउन्डेसनले गरेको सहयोगका कारण सेवा शुभारम्भको अवसर जुरेको प्रष्ट्याए । कार्यविधिमा भएको व्यवस्था अनुसार नगरले ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दलित लगायतलाई निःशुल्क परीक्षण सेवा दिने उनले जानकारी दिए ।