Butwal Today

खेलकुदलाई स्थानीय अर्थतन्त्रसँग जोडिने

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  सरकारले समग्र खेलकुद क्षेत्रका विकासको लागि रु चार अर्ब तीन करोड रकम विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले खेलकुदलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रङ्गशाला फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरे ।

उनले प्रमुख आठ सहरमा आगामी पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको योजना रहेको बताए ।

अर्थमन्त्री डा वाग्लेले विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमता भएका इन्डोर मल्टीपर्पस रङ्गशाला आगामी तीन वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरे ।

त्यस्तै, मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशालाको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी ‘मोडालिटी’ तयार गरिने सरकारको योजना छ ।

सरकारले खेलकुदमा रुचि भएका विद्यार्थीलाई सुविधासहितको प्रशिक्षण व्यवस्था मिलाउने तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यसै गरी, सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न तथा मधेस प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?