© 2026
पाल्पा । पाल्पाका वन क्षेत्रमा एक समय प्रशस्त देखिने पानी पोखरीहरू पछिल्ला वर्षमा विकास निर्माण, सडक विस्तार र संरक्षण अभावका कारण क्रमशः हराउँदै गए ।
पुराना पुस्ताले वन्यजन्तु, पशुपक्षी तथा यात्रुहरूका लागि धर्म र संरक्षणको भावनाले निर्माण गरेका यस्ता पोखरी अहिले नयाँ पुस्ताका लागि नौलो जस्तै बन्न थालेका छन् ।
तानसेन–गुल्मी सडक खण्डको बतासे डाँडा आसपासका क्षेत्रमा पहिले वन्यजन्तु र पशुपक्षीले पानी पिउने प्राकृतिक पोखरीहरू रहेको स्थानीय वृद्धहरू सम्झिन्छन् । तर सडक सञ्जाल विस्तार, जथाभाबी डोजर प्रयोग र वन क्षेत्रको संरचनागत परिवर्तनसँगै अधिकांश पोखरी पुरिँदै गए ।
परिणामस्वरूप पानीका मुहान सुक्ने, वन्यजन्तु बस्ती नजिक आउने र वातावरणीय सन्तुलन बिग्रिने समस्या बढ्न थालेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय पाल्पाले जिल्लाका विभिन्न सामुदायिक, कबुलियत तथा धार्मिक वन क्षेत्रमा पानी पोखरी निर्माण तथा पुनर्निर्माण अभियान अघि बढाएको छ । कार्यालयका प्रमुख मोहन श्रेष्ठका अनुसार वर्षाको पानी सङ्कलन गर्ने यस्ता पोखरी वैज्ञानिक हिसाबले अत्यन्त महत्त्वपूर्ण छन् ।
उनले पोखरीहरूले पानी पुनर्भरण (रिचार्ज) मा सहयोग गर्ने, वन क्षेत्रको आर्द्रता कायम राख्ने तथा वन्यजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने बताए । “पहिले स्थानीय समुदायले धार्मिक र मानवीय भावनाले पोखरी निर्माण गर्थे, अहिले विज्ञानले पनि यसको ठुलो महत्त्व पुष्टि गरेको छ,” श्रेष्ठले भने ।
रैनादेवी छहरा गाउँपालिकास्थित पारीखोरिया माथिल्लो सामुदायिक वन उपभोक्ता समूहकी सदस्य कमला घर्तीका अनुसार गाउँका वन क्षेत्रमा पहिले धेरै पोखरी थिए । संरक्षण अभाव र विकास निर्माणका क्रममा ती पोखरी हराउँदै गएपछि अहिले यसको महत्त्व झन् स्पष्ट भएको उनले बताइन् ।
“वन कार्यालयले पोखरीको वैज्ञानिक महत्वबारे बुझाएपछि समुदायले यसको आवश्यकता राम्रोसँग महसुस गरेको छ,” उनले भनिन्, “अहिले गाउँमा नयाँ पोखरी निर्माण भएपछि हामी निकै खुसी छौं । अब यसको संरक्षण गर्ने जिम्मेवारी समुदायकै हो ।”
स्थानीयका अनुसार पछिल्लो समय वन क्षेत्रमा पानीको अभाव बढेपछि वन्यजन्तुहरू पानी खोज्दै बस्ती नजिक आउन थालेका छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व बढाउने जोखिम पनि देखिएको छ ।
निस्दी गाउँपालिका–झिरुबासको जमुना डाँडा कबुलियत वन समूहकी सदस्य मनोकला सोतीले पुराना पुस्ताले बनाएका पोखरी हराउँदा तल्लो क्षेत्रका पानीका मुहानसमेत सुक्न थालेको बताइन् । “पहिले पोखरी हुँदा तलका धाराहरू पनि जोगिएका थिए,” उनले भनिन्, “यस पटक वन कार्यालयले फेरि पोखरी बनाइदिएको छ । वर्षापछि तलको पानीको स्रोत फेरि जीवित हुने आशा गरेका छौं ।”
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार जिल्लाका निस्दी, तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पोखरी निर्माण तथा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
निस्दी सब–डिभिजन वन कार्यालयका प्रमुख नन्द अधिकारीले मित्यालस्थित आप्रे डाँडा सामुदायिक वनमा पनि पोखरी निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । उनका अनुसार वन क्षेत्रको पानी संरक्षण र जैविक विविधता जोगाउन पोखरी निर्माण प्रभावकारी उपायका रूपमा देखिएको छ ।
तिनाउ गाउँपालिकाको राजापानी सामुदायिक वन उपभोक्ता समितिका सदस्य देवबहादुर घर्तीले पहिले यस्ता पोखरी धेरै भए पनि संरक्षण अभावमा हराउँदै गएको बताए । “जब पानीको समस्या बढ्न थाल्यो, तब मात्र यसको महत्त्व बुझियो,” उनले भने, “यस वर्ष स्थानीयको माग अनुसार वन कार्यालयले पोखरी निर्माण थालेको छ ।”
वन क्षेत्रका पुराना पोखरीहरू केवल धार्मिक आस्थासँग मात्र जोडिएका नभई वातावरणीय र वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको संरक्षणकर्मीहरू बताउँछन् । यस्ता पोखरीले वर्षाको पानी सङ्कलन गरी जमिनभित्र पानी पुनर्भरण गर्ने, वन्यजन्तुलाई पानी उपलब्ध गराउने र सुख्खा याममा समेत वन क्षेत्रको आर्द्रता कायम राख्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।
डिभिजन वन कार्यालय पाल्पाले आगामी वर्षहरूमा पनि पानीका मुहान संरक्षण र वन्यजन्तुको संरक्षणलाई लक्षित गर्दै थप पोखरी निर्माण गर्ने योजना अघि सारेको जनाएको छ । स्थानीय समुदायको सहभागितामा सञ्चालन गरिएको यो अभियानले हराउँदै गएका प्राकृतिक जलस्रोत संरक्षणमा नयाँ आशा जगाएको छ ।