© 2026
नयाँदिल्ली । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन ।
क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उनले यी स्रोतहरू सुरक्षित गर्नु महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् ।
सम्झौता महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ । उनका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ । यसले सरल र विविधीकृत आपूर्ति शृङ्खलालाई बलियो बनाउँदै सम्बन्धित मुलुकहरूलाई वित्त पोषण लगायतमा सहयोग गर्ने उनले बताएका छन् ।
सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीको बिचको साझेदारीलाई सुदृढ पार्ने प्रमाणको रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यान्वयनमा केही चुनौतीहरू भएता पनि धेरै अवसरहरू भएको बताएका छन् ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त राज्य अमेरिकाका लागि भारतको महत्त्वलाई प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताएका छन् । पछिल्ला केही दिनमा संयुक्त राज्य अमेरिका र भारत बिचको रणनीतिक गठबन्धन र राष्ट्रिय हितका लागि सम्झौताको महत्वको बारेमा बारम्बार उजागर गरेको बताएका छन् ।
उनले भारत र अमेरिकाले नवीनता अर्थतन्त्रका लागि महत्त्वपूर्ण खनिज र आपूर्ति शृङ्खलाहरूमा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासो सहित सम्झौता भएको बताएका छन् ।
सम्झौता महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्त्वहरू उच्च– इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली, र विद्युतीय सवारीका लागि महत्त्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति शृङ्खलाहरूलाई विविधीकरण गर्ने आपूर्तिकर्ताहरू बिच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासको बिचमा आएको जनाइएको छ ।