© 2026
बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको टोली पूर्वका विभिन्न उद्योग वाणिज्य सङ्घहरूको संस्थागत भ्रमणमा निस्किएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्यसमेत रहेको सङ्घले ६ दिने भ्रमणमार्फत पूर्वका सङ्घहरूको असल अभ्यास, कार्यक्रम तथा उद्योग–व्यवसाय क्षेत्रका अनुभव आदानप्रदान गर्ने जनाएको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार भ्रमणका क्रममा विभिन्न उद्योग वाणिज्य सङ्घसँग अन्तरक्रिया गर्नुका साथै उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे छलफल गरिनेछ । साथै औद्योगिक क्षेत्र, कृषि फार्म तथा कृषि पकेट क्षेत्रहरूको स्थलगत अवलोकनसमेत गरिने कार्यक्रम रहेको छ ।
अध्यक्ष अर्यालले अध्ययन भ्रमणबाट पूर्वका सफल अभ्यासलाई रुपन्देही क्षेत्रमा अनुसरण गर्न सहयोग पुग्ने तथा नयाँ लगानीका सम्भावित क्षेत्र पहिचान गर्न समेत मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी समिति सदस्यसमेत रहेका अर्यालको नेतृत्वमा रहेको भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, कार्यसमिति सदस्यहरू नरिश्वर शर्मा पौडेल, निर्मित कसजु, दिपक चापागाइ, काशिराम पौडेल, जमुना पौडेल, रेनु श्रेष्ठ, सुनिता शर्मा घिमिरे, विष्णु (कमला) घिमिरे, बालकृष्ण पौडेल, दिपक घिमिरे, लक्ष्मण ज्ञवाली तथा सचिवालयबाट कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ कार्यालय सहायक लेखनाथ ज्ञवाली सहित जना सहभागी छन् ।
भ्रमण टोलीले चितवन, मकवानपुर, वीरगञ्ज, जनकपुर, लाहान, सप्तरी, धरान, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, इटहरी, उदयपुर, सिन्धुलीलगायत १६ वटा उद्योग वाणिज्य सङ्घसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।
सङ्घको कार्यवाहक अध्यक्षमा पोखरेल
सङ्घको टोली संस्थागत अध्ययन भ्रमणमा निस्किएपछि सङ्घमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव प्रतीक पोखरेललाई प्रदान गरिएको छ । सङ्घको भ्रमण टोली नफर्किँदासम्म सचिव पोखरेलले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्नेछन् ।