Butwal Today

ढलेको लाँकुरी पुनः ठडिने

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

गुल्मी (तम्घास) । गुल्मीमा करिब १० वर्ष पहिले ढलेको लाँकुरी पुनः ठडिने भएको छ । लाँकुरी मञ्चको नामबाट परिचित उक्त स्थानमा रहेको लाँकुरी ढलेपछि रेसुङ्गा नगरपालिकाको निर्वाचित पहिलो स्थानीय सरकारले उक्त स्थानमा आधा करोड भन्दा बढी रकम खर्चेर थ्रिडी पार्क अर्थात् सङ्ख पार्क निर्माण गरेको थियो ।

उक्त स्थान पहिले सरकारलाई खबरदारी गर्ने स्थलको रूपमा परिचित भए पनि उक्त स्थानको नाम निसाना नै हटाएर पार्क निर्माण गरिएको थियो । उक्त पार्क निर्माण पश्चात् केही समय सञ्चालनमा रहे पनि लामो समय प्रयोगविहीन बनेको थियो । पार्क प्रयोगविहीन बनेपछि चौतर्फी आलोचना भएको थियो ।

रेसुङ्गा नगरपालिकाले पहिले लाकुरी मञ्च रहेको स्थानमा स्थापना गरिएको थ्रिडी पार्कलाई पुनः लाकुरी मञ्चकै रूपमा स्थापित गर्ने भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको लाकुरी ढलेपछि स्थापना गरिएको थ्रिडी पार्क लामो समयसम्म प्रयोगविहीन भएपछि पुनः लाकुरी मञ्चकै रूपमा स्थापित गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रामजी पन्थीले कार्यपालिकाको बैठकबाट पार्क रहेको स्थानमा पुनः लाकुरी रोप्ने निर्णय भएको र सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित वडालाई दिएको बताएका छन् ।

पार्कलाई अन्य स्थानमा लागि स्थापना गर्ने र पुरानो महत्त्व बोकेको लाकुरी मञ्चलाई पहिलेकै अवस्थामा ल्याउने गरी लागेको उनको भनाइ छ । पार्कमा रहेको सङ्खलाई रेसुङ्गा क्षेत्रमा लगेर व्यवस्थापन गर्दा उचित हुने भएकाले त्यसको सम्पूर्ण व्यवस्थापन वडा कार्यालयमार्फत नै हुने उनको भनाइ छ ।

पूर्व जनप्रतिनिधि र मेयरसँग छलफलको क्रममा वडा कार्यालय 
नगर कार्यपालिकाको बैठकले उक्त पार्कको व्यवस्थापन गर्ने जिम्मा ८ नम्बर र ९ नम्बरलाई दिएपछि वडा कार्यालयले पूर्व जनप्रतिनिधिसँग छलफल गर्ने गरी तयारी गरेको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन काउछाका अनुसार पूर्व वडा अध्यक्षहरू र पूर्व मेयरसँग पहिले पार्क बनाउँदाको उद्देश्य र हाल प्रयोगविहीन भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा परामर्श गर्न लागिएको उनको भनाइ छ । एक दुई दिन भित्रैमा छलफल गर्ने र ठोस निर्णय लिने गरी तयारी गरेको उनको दाबी छ ।

थ्रिडी पार्क रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा निर्माण भएको पनि यसै प्रयोगविहीन अवस्थामा छ । त्यस पश्चात् रेसुङ्गा नगरपालिकाले पटक पटक गरी १० लाख रुपियाँ भन्दा बढी रकम मर्मतमा खर्च भएको छ ।

पहिले सरकारलाई खबरदारी गर्ने जिल्ला प्रशासन अगाडि रहेको पहिलेको लाकुरी मञ्चको नाम निसानै सकेर बनाइएको पार्क प्रयोगविहीन हुँदा पहिलेकै लाकुरी मञ्चकै रूपमा अगाडि बढाउनुपर्नेमा स्थानीयहरुले जोड दिँदै आएका थिए । स्थानीय नागरिकहरूको माग लाँकुरी मञ्च नै स्थापित गर्नुपर्नेमा दबाब दिँदै आएपछि नगरपालिका यस्तो निर्णय लिनमा बाध्य भएको भएको हो ।

लुम्बिनी प्रदेशलाई टुक्रयाउनेगरी तत्कालीन सरकारले पहिले बनाएको योजनाको विरोध स्वरूप उक्त लाँकुरी मञ्चबाटै गुल्मेली नागरिकले दैनिक रूपमा सरकारलाई खबरदारी गर्दै आएका थिए । उक्त विरोधमा गुल्मेली राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू र नागरिकहरू स्वतः र स्फूर्त रूपमा सहभागी जनाएका थिए । फलस्वरूप उक्त विरोध तथा आन्दोलनले सार्थकता पाएको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनमा लुम्बिनी प्रदेश सरकार, उद्योग वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजारको लागतमा सेल्फी टावर निर्माण गरिए पनि अहिले प्रयोगविहीन नै बनेको छ ।

यस्तै सदरमुकाम तम्घासकै उनायचौरमा १३ लाख ३८ हजार ९११ रुपियाँमा निर्माण भएको ट्रीहाउस पनि अहिले प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त हाउसको २०७६ सालमा तत्कालीन उद्योग वन तथा पर्यटन मन्त्री लीला गिरीले तामझामका साथ उद्घाटन गरेकी थिइन ।

अहिले उक्त संरचना प्रयोगविहीन अवस्थामै रहेको छ । प्रयोगविहीन रहेका संरचनाहरूलाई सञ्चालन र व्यवस्थापनका लागि योजना बनाएर नै अगाडि बढ्ने पन्थीले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?