© 2026
बर्दघाट । बर्दघाट नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । फाइनल खेलमा वडा नम्बर ४ ‘ए’ लाई ३० रनले पराजित गर्दै वडा नम्बर १३ च्याम्पियन बनेको हो ।
उपाधिसँगै वडा नम्बर १३ ले ६५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ‘ए’ ले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको वडा नम्बर ४ ‘ए’ विरुद्ध वडा नम्बर १३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । टोलीका लागि सन्दीप सुनारले उत्कृष्ट ब्याटिङ गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने अजय थारुले ३२ रनको योगदान दिए ।
वडा नम्बर ४ ‘ए’ का बलर प्रज्वल अर्यालले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए। सुरज कार्कीले ४ ओभरमा १३ रन दिँदै ३ विकेट हात पारे।
१५३ रनको लक्ष्य पछ्याएको वडा नम्बर ४ ‘ए’ को सुरुआत कमजोर रह्यो । ओपनर निरज श्रेष्ठ पहिलो बलमै आउट भएपछि टोली दबाबमा परेको थियो । त्यसपछि शीर्षक्रमका ब्याटर लगातार आउट हुँदा टोली संकटमा परेको थियो ।
मध्यक्रममा आएका प्रज्वल अर्यालले ३५ बलमा ३४ रनको संघर्षपूर्ण पारी खेले । विजय चापागाईंले २१, शौरभ सुवेदीले १९ तथा तिलक क्षेत्रीले १८ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । वडा नम्बर ४ ‘ए’ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमा सीमित भयो ।
वडा नम्बर १३ का लागि सन्दीप सुनारले ३ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका उनी फाइनल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई शम्भुलाल श्रेष्ठ ले नगद, ट्रफी तथा मेडल प्रदान गरे । कार्यक्रममा उनले नगरस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
साथै आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै खेल मैदान स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिने जानकारी दिए ।
प्रतियोगितामा बर्दघाट नगरपालिका अन्तर्गतका १० टोलीको सहभागिता रहेको थियो ।
