Butwal Today

उद्योगीलाई फोनमै धम्की, सुरक्षा चुनौती

रुपन्देहीमा उद्योगी व्यवसायीमाथि चन्दा आतङ्क र धम्कीका घटना सार्वजनिक हुन थालेपछि जिल्लाको शान्ति सुरक्षाको अवस्था प्रति गम्भीर प्रश्न उठ्न थालेको छ । उद्योगीले खुलेआम धम्की आएको सार्वजनिक गर्दा समेत प्रहरी प्रशासन प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै सुरक्षा संयन्त्रमाथि आलोचना बढेको छ । 
५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

भैरहवा । चैतन्य आरएमसी तथा निर्माण सेवा प्रालिका अध्यक्ष भरतकुमार पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा आफ्नो उद्योगमा चन्दा माग आएको र नदिए उद्योगका गाडी फुटाउने धम्की आएको बताएका छन् ।

भैरहवामा सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पोखरेलले आफू लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति भएको उल्लेख गर्दै पछिल्लो समय व्यावसायिक क्षेत्रमा पनि सक्रिय रहेको बताए । उनले राजनीति, शिक्षा र व्यावसायिक अनुभवका आधारमा समाज र व्यक्तिको आचरण बुझ्ने क्षमता आफूसँग रहेको उल्लेख गरे ।

पोखरेलका अनुसार “चैतन्य रेडिमिक्स कङ्क्रिट प्रालि” को नाममा आर्थिक सहयोग माग गर्दै उद्योगमा पत्र आएको थियो । त्यसपछि विभिन्न समयमा फोनमार्फत आर्थिक सहयोग उपलब्ध गराउन दबाब दिइएको उनले बताए ।

उनले आफूलाई सुरेन्द्र क्षेत्री बताउने व्यक्तिले ९८२७२५६६८४ नम्बरबाट बिहान ८ः३५, ८ः३८ र १०ः२४ बजे फोन गरी चन्दा माग्दै धम्की दिएको दाबी गरे । चन्दा नदिए मंगलबारसम्म उद्योगका गाडी फुटाइदिने धम्की समेत दिइएको पोखरेलले बताए ।

“लोकतान्त्रिक व्यवस्थामा पनि चन्दा दिन सक्दिनँ भन्दा धाकधम्की दिनु शोभनीय होइन,” उनले भने, “यस्ता गतिविधि सार्वजनिक हुनुपर्छ भनेर नै पत्रकार सम्मेलन गरेको हुँ ।” पोखरेलले आफूजस्ता अन्य उद्योगी व्यवसायीलाई पनि धम्क्याउने काम भइरहेको सुनिएको उल्लेख गर्दै राजनीतिक दल सञ्चालनका लागि आर्थिक पक्ष आवश्यक भए पनि धम्क्याएर चन्दा उठाउने कार्य गलत भएको बताए ।

उनले धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुनी राज्यको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । “मैले यसबारे मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा र सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा जानकारी गराएको छु ।” पोखरेलले भने, “ एउटा सचेत नागरिक भएकाले यस्ता अशोभनीय गतिविधि बाहिर ल्याउनुपर्छ र धम्कीदेखि डराउनु हुँदैन भन्ने लागेर जानकारी गराएको हुँ,” उनले भने ।

पोखरेललाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिबाट चलानी नम्बर २०७ मिति २०८३/१/२१ गते को पत्रबाट चन्दा मागिएको छ । पत्रमा दलाल संसदीय व्यवस्था भङ्ग गर्दै राष्ट्र प्रमुख पद प्रत्यक्ष जन निर्वाचनमा जाने उद्देश्यले पार्टी सशस्त्र सङ्घर्षको घोषणा  गरेको र पार्टीले संचालन गरेको विशेष आर्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग उपलब्ध गराइदिन भनिएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनक बहादुर शाहीलाई सम्पर्क गर्दा उनले पोखरेलबाट आधिकारिक जानकारी नआएको बताए । “मौखिक रूपमा उहाँले जानकारी गराउनु भएको छ, हामीले पनि सोही अनुसार काम अगाडी बढाएका छौँ ।” शाहीले भने “अहिले आरोपितका लोकेसन खोजिरहेको र चाडै नै पक्राउ गर्छौ ।”

क्यामेरामा बोल्न नमानेका प्रहरी उपरीक्षक शाहीले उद्योगी पोखरेलले पत्रकार सम्मेलन गरेकोले आरोपित भाग्न सक्ने भन्दै असन्तुष्टि पोखे । “चन्दा माग भए पनि प्रहरीले यसलाई सम्बोधन कसरी ग¥यो भन्ने हो ।” शाहीले भने, “उहाँको पत्रकार सम्मेलनले प्रहरीले शान्ति सुरक्षाको लागि कामै नगरेको जस्तो देखिन्छ र आरोपित भाग्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ ।” रुपन्देही आर्थिक तथा औद्योगिक गतिविधिको केन्द्रका रूपमा विकास भइरहेको जिल्ला हो ।

तर उद्योगी व्यवसायी नै असुरक्षित महसुस गर्न थालेपछि यहाँको लगानी वातावरण, औद्योगिक विस्तार र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । स्थानीयले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?