© 2026
पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा निर्माणाधीन सुविधा सम्पन्न खेल मैदान बजेट अभावका कारण अलपत्र परेको छ ।
सङ्घीय सरकारको महत्त्वाकाङ्क्षी योजनाका रूपमा सुरु गरिएको करोडौँ लागतको खेल मैदान निर्माणले पूर्णता नपाउँदा खेल प्रेमी र खेलाडी चिन्तित बनेका छन् । खेलकुद मन्त्रालयको आर्थिक सहयोग र तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा बगाले क्षेत्रमा निर्माण सुरु गरिएको खेल मैदान पर्याप्त बजेट नआएपछि बिचमै रोकिएको हो ।
जिल्लाकै ठुलो र सुविधा सम्पन्न खेल मैदान बन्ने अपेक्षासहित योजना सुरु हुँदा खेल क्षेत्रसँग जोडिएका व्यक्तिहरू उत्साहित भएका थिए । खेलकुद पूर्वाधार निर्माणसँगै पाल्पाको खेलकुद गतिविधिले नयाँ गति लिने विश्वास गरिएको थियो । तर निर्माण कार्य अधुरै रोकिएपछि खेलाडी र खेल प्रेमी निराश बनेका छन् ।
स्थानीय खेल प्रेमी दीपेन्द्र रानाका अनुसार खेलकुदको विकासका लागि पूर्वाधार मुख्य आधार भए पनि मैदान निर्माणले पूर्णता नपाउँदा खेलाडीको उत्साह घटेको छ ।
नगरपालिकाका मुख्य प्राविधिक रामप्रसाद श्रेष्ठका अनुसार खेल मैदान निर्माणका लागि सङ्घीय सरकारले करिब २१ करोड २९ लाख रुपैयाँको योजना प्रस्ताव गरेको थियो । निर्माणको सुरुआती चरणमा पटक–पटक गरी २ करोड ५० लाख रुपैयाँ निकासा भएको भए पनि त्यसपछि बजेट रोकिँदा निर्माण कार्यसमेत ठप्प भएको उनले बताए ।
आर्थिक वर्ष २०८०/०८१ देखि सुरु भएको योजना हालसम्म आधारभूत पूर्वाधार निर्माणमै सीमित छ । निर्माणाधीन संरचना वर्षा याममा क्षतिग्रस्त हुने जोखिम बढेको स्थानीयको गुनासो छ ।
सङ्घीय सरकारअन्तर्गत सञ्चालन गरिएका अन्य स्थानीय तहका खेल मैदान योजनाहरू पनि प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा भौगोलिक कठिनाइका कारण सानो आकारमा मैदान निर्माण गरिएको छ भने बगनासकाली, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा जग्गा अभावका कारण योजना अघि बढ्न सकेको छैन ।
तानसेनको अधुरो खेल मैदान सम्पन्न गर्न अझै करिब २१ करोड रुपैयाँ आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । पर्याप्त बजेट सुनिश्चित नभएसम्म निर्माण कार्यले गति लिन नसक्ने नगरपालिकाको भनाइ छ ।
खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको दाबी गरिए पनि बजेट अभावका कारण योजना अलपत्र पर्दा सङ्घीय सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ ।