© 2026
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि व्यापक कारबाही गरिएको जनाएको छ। कार्यालयले बुधबार दुर्घटना, ट्राफिक कारबाही तथा राजस्व संकलन सम्बन्धी विवरण सार्वजनिक गर्दै ओभरलोड, मापसे, तीव्र गति र अव्यवस्थित सवारी सञ्चालनमाथि कडाइ गरिएको जानकारी दिएको हो।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माका अनुसार हालसम्म २४ हजार २ सय ६६ ओभरलोड सवारी साधनबाट ४ करोड १८ लाख २६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै ओभरलोड बोकेका १ हजार ४ सय ४९ सवारी साधनलाई यातायात व्यवस्था कार्यालय पठाइएको र ती सवारीबाट थप १ करोड ४३ लाख ७० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५ सय ७२ मोटरसाइकललाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएकोमा ४७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार लागुऔषध सेवन (लापसे) गरेर सवारी चलाउने ३९ जना चालक र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४ हजार ७ सय ७५ चालकलाई कारबाही गरिएको छ।
यस अवधिमा आफुखुसी सिट तथा मुढा राखेका ५ सय ८३ सवारी साधनलाई कारबाही गरिएको छ भने सार्वजनिक तथा निजी सवारीमा चालकको दृश्य अवरोध गर्ने फूल, झिलिमिली, माला लगायत सामग्री हटाइएको छ। ट्राफिक प्रहरीले ७ सय २३ सवारी साधनबाट २०० थान ग्लेयर कजिङ लाइट्स फोकस, फग तथा शो लाइट र ६८५ सवारीबाट १ हजार १ सय ७४ थान सामग्री झिकिएको जनाएको छ। साथै नियमविपरीत जडान गरिएका ८२ वटा हुड अर्थात छत हटाइएको छ। प्रयोजनविपरीत रातो प्लेट प्रयोग गरी यात्रु बोकेको पाइएपछि ८ सय ६७ सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ भने १ हजार ५ वटा नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ। लामो समयसम्म नवीकरण नगरी सञ्चालन गरिएका १७० सवारी साधनलाई नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालय पठाइएकोमा यसबाट १५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यस्तै यातायात व्यवस्था कार्यालयका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले मेकानिकल तथा प्राविधिक परीक्षण गर्दा ६२ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनामा ४ सय ९३ जनाको मृत्यु
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा ४ हजार ४ सय ८८ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ४ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय ८ जना घाइते भएका छन्। अघिल्लो वर्ष सोही अवधिमा ४ सय २४ जनाको मृत्यु र ४ हजार ५ सय ५४ जना घाइते भएका थिए। चालु आर्थिक वर्षमा प्रदेशभर ९४ हजार ८ सय ४१ ट्राफिक कारबाही गरिएको कार्यालयले जनाएको छ।
तीव्र गति दुर्घटनाको मुख्य कारण
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ। सार्वजनिक विवरणअनुसार तीव्र गतिका कारण २ हजार ९ सय ५१ दुर्घटना भएका छन् भने मापसेका कारण ५ सय ६६ दुर्घटना भएका छन्। निद्रा तथा थकान ३ जना,अनावश्यक ओभरटेक १७, लेन अनुशासन उल्लंघन ३ , त्यस्तै चालकको असक्षमता कारण ४ सय ९० र अन्य लापरवाहीका कारण १ सय २ दुर्घटना भएका छन्। मोबाइल फोन प्रयोग १ जना दुर्घटना भएका छन् अनुशासन उल्लंघनका कारण दुर्घटना बढेको प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए।
विभिन्न शीर्षकमा करोडौं राजस्व संकलन
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म तीव्र गतिमा सवारी चलाउने १ हजार ८ सय ९९ सवारी चलाकलाई कारर्वाहि गरेको छ भने चालकबाट १० लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। त्यस्तै मापसे गरेर सवारी चलाउने ४ हजार ७ सय ७५ चलाकलाई कारर्वाहि र चालकबाट २५ लाख ६४ हजार रुपैयाँ, गलत स्थानमा पार्किङ गर्ने ३ हजार ७ सय २३ सवारीबाट २६ लाख ५२ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको छ। रातो बत्ती तथा इशारा उल्लंघन गर्ने ४ हजार २ सय ६२ चालकबाट २२ लाख २२ हजार रुपैयाँ, लेन अनुशासन उल्लंघन गर्ने १ हजार २ सय ६१ चालकबाट ६ लाख ७६ हजार रुपैयाँ तथा चालकको असक्षमता सम्बन्धी ६ हजार ५ सय ६९ कारबाहीबाट १ करोड ३१ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

