Butwal Today

गुल्मीमा ६ सय बढी कुकुरको बन्ध्याकरण 

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

गुल्मी । गुल्मीमा छ सय बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा १०२, सत्यवतीमा ६७, छत्रकोटमा ६७ र गुल्मी दरबारमा दुई सय, रेसुङ्गामा १०६ र मुसिकोटमा ७४ गरी कुल ६१६ कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धका  खोप लगाइएको हो  ।

जसमध्ये २८५ भाले र ३३१ पोथी कुकुरहरू रहेका छन् । यस अभियानमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोग रहेको छ । अनुभवी पशु चिकित्सकहरूको टोलीले स्थानीय स्तरमै पुगेर कुकुरको बन्ध्याकरण तथा रेबिज खोप सेवा प्रदान गरेको हो । जिल्लामा करिब आठ हजार कुकुर रहेको अनुमान गरिएको छ ।

जसमध्ये आधा सामुदायिक (छाडा) र आधा घरपालुवा छन् । गत वर्ष मात्रै चार सय कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप गरिएको थियो भने करिब एक हजार मानिसले कुकुरको टोकाइपछि रेबिज विरुद्धको खोप लगाउनुपरेको तथ्याङ्क छ ।

गत वर्ष गुल्मी दरबार गाउँपालिकामा कुकुरको टोकाइका कारण एक महिलाको रेबिजबाट ज्यानसमेत गएको थियो । साथै गाईभैंसी जस्ता चौपायामा पनि कुकुरको आक्रमण बढेको स्थानीयले बताएका छन् ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?