Butwal Today

धानखोला–लमही सडकमा नयाँ युगको सुरुआत: अत्याधुनिक प्रविधिसहित स्तरोन्नति अभियान सुरु

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

लमही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा   बुधबारदेखि सुरु भएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को लगानीमा बुधबार देखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु भएको छ ।

उक्त सडक स्तरबृद्धिको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्ने छ ।

दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । सो सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । जुन नेपाली कम्पनी हो ।

एमसीसीका अन्य ठेक्काहरू नेपाली कम्पनीले यस अघि पाएका थिएनन् । ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए । सडकको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गरेका छन ।

यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ ।

सडकको शुप्रारम्भ गर्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोग सराहनीय भएको बताए । उनले यस सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । साथै, स्थानीयको अपेक्षाअनुसार सडक सुधार र स्तरोन्नतिको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिनुपर्ने बताए । उनले ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको स्पष्ट पारे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए । यस सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाए । शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो ।

गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ ।

नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ । उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ ।

यसअन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुन्छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?