© 2026
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ सेमलार तथा तामनगर क्षेत्रमा बिदाको दिन विद्यालय पोसाकमा विद्यार्थीहरूले विभिन्न परिकार बनाएर बेच्दै गरेको, हाते सामग्री बनाएर बिक्री गर्दै गरेको त कुनैले आफ्नो उत्पादन बजारीकरण गर्दै आएको देखिन थालेको छ ।
कुनैले आफ्नो पेसा अनुसारको कपडा, एप्रोन समेत लगाउने गरेका छन् । नवरत्न माध्यमिक विद्यालयका कक्षा ९ का १४ वटा समूहमा विद्यार्थीले उद्यमशीलता अभ्यास अन्तर्गत कुनै समूहले मोःमोः बनाएर बेच्दै भेटिन्छन् भने कुनैले चटपट बनाउँछन्, कुनैले दही, लस्सी त कुनैले बटुक, कुनैले कुनै न कुनै परिकार तयार गर्छन् ।
यसको साथै केही विद्यार्थीहरूले सीप सिकेर ‘किरिङ’ बनाएर बिक्री गर्दै आएका छन् भने केही समूहले तरकारी खेती र बेर्ना समेत उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् ।
विद्यार्थीहरूले यसको अलावा तरकारी खेती, दही, लस्सी, बटुक, हाते निर्मित/बुनाइबाट साँचो छल्ला, ब्रासलेट, योमरी, आटा मोमो, मैनबत्ती, अचार उत्पादन, गड्यौला खेती÷मल उत्पादनमा समेत जोडिएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ मा हरेक शुक्रबार लाग्ने हाटबजारमा र अन्यत्र पनि उनीहरूले आफूले उत्पादन गरेको विभिन्न सामग्रीहरू बिक्री वितरणका लागि स्टल राख्दै आएका छन् ।
विद्यार्थीलाई कामको संसार चिनाउने (स्कुल टु वर्क ट्रान्जिसन) कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको सहयोगमा यो कार्यक्रम जारी रहेको विद्यालयका करियर गाइडेन्स शिक्षक तथा एसटीटी कार्यक्रम संयोजक भक्तिराम गैरे बताउँछन् ।
विद्यालयमा हाल कक्षा ८ देखि १२ सम्म कृषि विषय समेत अध्यापन हुँदै आएको छ । यसको अलावा कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषयमा समेत कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत कक्षा ८, ९ र १० का सेक्टर ए र सेक्टर बी का विद्यार्थीहरूलाई कामप्रति सम्मान र भविष्यमा स्वरोजगार हुन सकून् भन्ने हेतुले यो कार्यक्रम सुरु गरी सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा शिक्षक गैरेको भनाइ रहेको छ । उनी भन्छन्– “यो विद्यार्थीहरूको लागि कामप्रति सम्मान र उनीहरूको सीप, क्षमता, अभिवृत्ति, कला समेत विकास गर्दै भविष्यमा रोजगार र स्वरोजगारसम्मको परिकल्पनासहित सञ्चालन गरिएको छ ।”
कार्यक्रम अन्तर्गत कक्षा ८ का विद्यार्थीहरूको बीचमा उद्योग व्यवसायी, पेशाकर्मी तथा पूर्व विद्यार्थीहरूको अन्तरक्रिया, कामको संसारका लागि आवश्यक ज्ञान, सीप सम्बन्धी विमर्श र अन्तरक्रिया समेत गरिएको साथै टीभीईटी विद्यालय भ्रमण समेत विद्यालयले गराउँदै आएको छ । जसबाट विद्यार्थीहरूमा थप उत्प्रेरणा पैदा भएको विद्यालयका प्रधानाध्यापक हेमराज आचार्य बताउँछन् ।
यस्तै विद्यालयले कक्षा ९ का लागि उद्यमशीलता, व्यवसायको अवधारणा विकास, वित्तीय साक्षरता, बजारीकरण र ब्रान्डिङ, व्यवसायको अवधारणा तयारी र अभ्यास, व्यावसायिक योजनाको कार्यान्वयन एवं विद्यार्थीहरूलाई कामको संसारमा प्रत्यक्ष रूपमा सहभागी भई अभ्यास गर्ने अवसर प्रदान गरिएको छ ।
प्रधानाध्यापक आचार्यका अनुसार कक्षा १० का विद्यार्थीहरूको लागि रोजगारी तयारी, कामको संसारको अवलोकन, बायोडाटा लेखन, अन्तर्वार्ता तयारी आदि सहित मार्गदर्शन सम्बन्धी सत्र सञ्चालन गरिएको छ ।
जसको लागि तालिमप्राप्त वृत्तिमार्गनिर्देशन शिक्षकको रूपमा भक्तिराम गैरेले विद्यार्थीलाई करियर गाइडेन्स गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालयको यस कार्यक्रममा कक्षा ८, ९ र १० का झण्डै ४०० विद्यार्थी सहभागी भएका छन् भने १२ वटा सत्र सञ्चालन गरिएको छ ।
उद्यमशीलता अभ्यासमा सहभागी कक्षा ९ का १४ वटा विद्यार्थी समूह हाल रहेका छन्, जसले केही न केही उत्पादन गर्दै बजारीकरण गर्दै आएका छन् । गत वर्ष विद्यालयले १० हजार बीउ पुँजी उपलब्ध गराएको थियो, जसमा ४ वटा समूह उद्यमशीलता अभ्यासमा सहभागी थिए ।
विद्यालयबाट व्यवसाय सञ्चालनका लागि सुरुवाती चरणमा ५ हजार बीउ पुँजीको रूपमा रकम उपलब्ध गराइएको छ ।
जसलाई विद्यार्थीहरूले उत्पादनमा लगाएर आएको नाफाबाट बीउ पुँजी ‘नवरत्न उद्यमशील फण्ड’ स्थापना गरी त्यसमा योगदान गराउने योजना रहेको साथै भविष्यमा विद्यार्थीलाई थप लगानी आवश्यक परेमा त्यही फन्डबाट बिना ब्याज प्रयोग गर्न दिने योजना रहेको प्रअ आचार्यको भनाइ छ । उद्यमशील समूहले आर्जन गरेको नाफा उनीहरूले आफैँ प्रयोग गर्न पाउने छन् ।
बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत कुल ३ लाख ३० हजार २ सय रुपैयाँ प्रदान गरेको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दास्रो), नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबिच भएको सम्झौता अनुसार यो परियोजना नवरत्न माविमा पनि लागू गरिएको हो ।
जसको लागि कार्यगत अभ्याससहित छोटो अवधिको तालिम, वृत्ति मार्ग निर्देशन बमोजिम क्षमता अभिवृद्धिका लागि हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको परियोजना हो ।