Butwal Today
पहिलो दिनमै शान्ति सुरक्षामा खलल पुर्‍याउने १०३ जना पक्राउ

रुपन्देहीमा प्रहरीको ‘स्वीप अप्रेसन’

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

भैरहवा ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’का क्रममा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाईहरूले आइतबार साँझ ७ः०० बजेदेखि राति ९ः०० बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार जिल्लामा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित क्षेत्रहरूमा गरिएको सघन चेकजाँचका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई समातिएको हो । यस्ता व्यक्तिहरूमा लागु औषध, अवैध हतियार, गुन्डाहरू, राजस्व छलीमा संलग्न, अवैध उत्खननमा संलग्न लगायतका रहेको उनले बताए।  “जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न हामीले विशेष स्वीप अप्रेसन चलाएका हौँ, “डिएसपी सापकोटाले भने , “पक्राउ परेका १०३ जनामाथि उनीहरूको आपराधिक गतिविधि र संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको छ ।”

सापकोटाले अभियानको पहिलो दिन भैरहवाबाट २३ जना, बुटवलबाट २५ जना र अन्यलाई सालझण्डी, लुम्बिनी लगायतका स्थानबाट पक्राउ गरिएको जनाए । सापकोटाले पक्राउ गरिएकाहरूको आपराधिक रेकर्ड हेरी केहीलाई परामर्श समेत दिएर उनीहरूको अभिभावकको जिम्मा लगाइएको बताए । पक्राउ मध्ये करिब २० जना गम्भीर अपराधमा संलग्न देखिएको कारण उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले पछिल्लो समय जिल्लामा सुरक्षा निगरानी बढाउँदै साताका विभिन्न समयमा यस्ता आकस्मिक अप्रेशनहरू सञ्चालन गर्दै आएको जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान पश्चात कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?