Butwal Today

सिद्धार्थनगर सिटी हस्पिटलद्वारा ‘सुलभ उपचार कार्यक्रम’ घोषणा

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

भैरहवा । सिद्धार्थनगर सिटी हस्पिटल प्रालि ले न्यून आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गरी ‘सुलभ उपचार कार्यक्रम’ सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८३ को अवसर पारेर अस्पतालले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम घोषणा गरेको हो ।

सरकारी अस्पतालमा बिरामीको चापका कारण लामो समय कुर्नुपर्ने अवस्था र निजी अस्पतालको महँगो शुल्क तिर्न नसक्ने सर्वसाधारणलाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल ले जानकारी दिए । सेवा सुलभ भए पनि उपचारको गुणस्तर, सरसफाइ तथा बिरामीप्रतिको व्यवहारमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

अस्पतालले वैशाख १६ गतेदेखि लागू हुने गरी विभिन्न सेवाका शुल्क निर्धारण गरेको जनाएको छ । जसअनुसार बिहान ७ बजे देखि ९ः३० बजेसम्म ओपिडी टिकट १५० रुपैयाँ, जनरल वार्ड प्रतिदिन ५०० रुपैयाँ, आईसीयू २ हजार २०० रुपैयाँ, एनआईसीयू  २ हजार रुपैयाँ, टाउकोको सिटी स्क्यान  ३ हजार ५०० रुपैयाँ र भिडियो एक्सरे ८०० रुपैयाँ निर्धारण गरिएको छ । साथै विभिन्न शल्यक्रियाका लागि २५ प्रतिशत छुट देखिको विशेष सुलभ प्याकेजसमेत ल्याइएको अस्पतालले जनाएको छ ।

पौडेका अनुसार यसअघि नै सरकारी निर्देशनअनुसार कूल बिरामीमध्ये १० प्रतिशत विपन्न बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै आइएको छ । साथै विपन्नका लागि निःशुल्क डायलाइसिस सेवा तथा सामाजिक सुरक्षा कोष अन्तर्गतका कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले प्रत्येक महिना एक–एक जना अति विपन्न बिरामीको पित्त थैलीको पत्थरी, नाक–कान–घाँटी तथा पाठेघरसम्बन्धी निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेको छ । यसका लागि अस्पतालले तोकेको प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।

निजी क्षेत्रको अस्पताल भएर पनि समुदायप्रति जिम्मेवार बन्दै न्यून शुल्कमा गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको अस्पतालका अध्यक्ष डा. सुबोध पाण्डेले बताए ।

उनले सिद्धार्थनगर सिटी अस्पताल संस्थागत अस्पताल भए पनि गैर नाफामूलक रूपमा सञ्चालनमा रहेको हुँदा अन्य अस्पतालहरूको तुलनामा धेरै सस्तो रहेको दाबी गरे । विशेषतः काठमाण्डौं र भारतका महँगो अस्पतालमा उपचार गराउन नसक्ने बिरामीहरूलाई सोही अस्पतालका सेवा सुविधा भैरहवामै उपलब्ध गराउने लक्ष्य सहित अस्पताल सञ्चालन गरिएको पाण्डेले बताए ।

“यसमा हामी एक तरिकाले सफल पनि भएका छौँ, सुविधा सम्पन्न अस्पतालमा मध्यम वर्गका जनतालाई उपचार दिइरहेका छौँ,” उनले भने “धेरै जना विश्वास गरि आउनुभएको छ, हामी उहाँहरूको विश्वासलाई अझै उचाइमा पु¥याउन प्रयासरत छौँ ।”

भैरहवामा स्थापित सिटी अस्पतालले मृगौला रोग, निःशुल्क डाईलासिस, सम्पूर्ण हाडजोर्नीको अपरेशन, तथा थाईराईडको मेशीनद्धारा रगत जाँच, भिडियो एक्सरे, बाल रोग, जनरल फिजिशियन, फिजियो थेरापी लगायतको सेवा अस्पतालले प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?