© 2026
भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा ३ दिन देखि फोहोर उठ्न सकेको छैन । यसले गर्दा स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया देखि नै नगरको विभिन्न स्थानमा फोहोर थुप्रिँदै गएको छ ।
नगरको बेलहिया, आँखा अस्पताल, देवकोटाचोक, बुद्ध चोक लगायतका मुख्य स्थानमै फोहोरको थुप्रो बढ्न थालेको छ ।
अहिले तराईमा प्रचण्ड गर्मी र हुरीको मौसम रहेको छ ।
यस्तो अवस्थामा बाटोमा फालिएको फोहोरको कारण पर्यटक मात्र होइन नगरवासीहरू पनि प्रभावित भइरहेका छन् । फोहोरको थुप्रोबाट तीव्र दुर्गन्ध फैलिएको छ भने हावाले फोहोर उडाएर अन्यत्र लैजाने समस्या पनि रहेको छ ।
यद्यपि नगरपालिकाको कार्यालयले अहिले नकुहिने फोहोरलाई ठुलो प्लाष्टिकको बोरामा राखेर केही हदसम्म उड्नबाट जोगाएको भने देखिन्छ ।
सर्वोच्च अदालतले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डा खोलामा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेसँगै सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन अन्योलमा परेको हो ।
यसअघि अनियन्त्रित रूपमा फोहोर फालिँदा डन्डा खोलामा दुर्गन्ध र प्रदूषण बढेको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तिम निर्णय हुँदासम्मका लागि फोहोर फाल्न रोक लगाएको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले उक्त क्षेत्रमा डम्पिङ साइट सञ्चालन नगर्न र फोहोर नफाल्न आदेश दिएको हो । सो आदेशपछि नगरपालिकाले तत्कालका लागि फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको जनाएको छ ।
सोमबार बिहानै फोहोर उठाएको नगरपालिकाको कार्यालयले त्यसयता फोहोर उठाएको छैन । फोहोर व्यवस्थापन समेत हेरिरहेका सिद्धार्थनगर नगर पालिकाका रोजगार संयोजक खेमराज गैरेले अहिले नगरबाट दैनिक १५ टन बढी फोहोर निस्किने गरेको बताए ।
उनले चैत देखि नै नगरपालिकाले कुहिने र नकुहिने फोहोर श्रोतमै वर्गीकरण गर्न आग्रह गरे पनि त्यो लागु भने हुन नसकेको बताए । यसले पनि फोहोर व्यवस्थापनमा थप समस्या देखिएको उनको भनाइ छ ।
तत्कालको लागि नकुहिने फोहोरले त्यति असर नगरे पनि कुहिने फोहोरको कारण दुर्गन्ध फैलिएको उनले स्विकारे ।
अदालतको कारण नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूलाई फोहोर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने विषय ठुलो टाउको दुखाई भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर नगरपालिकाले नगरको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन बिहीबारबाट स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने अभियान सुरु गर्ने भएको जनाए ।
थापाले नगरपालिकाले फोहोर व्यवस्थापनलाई एक नम्बर प्राथमिकतामा राखेर यो नयाँ योजना कार्यान्वयन गर्न लागेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार नगरपालिकाले बिहीबारदेखि नगरबासीका घर–घरबाट सङ्कलन गरिने फोहोरलाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरिनेछ । यसका लागि नागरिकहरूलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन भइरहेको उनले जनाए ।
कुहिने फोहोरलाई मल बनाउने वा बायो ग्यास उत्पादन गर्नेतर्फ निजी क्षेत्रसँग समन्वय गरिँदै गरेको बताउँदै थापाले नकुहिने फोहोरलाई छुट्टै खाली ठाउँमा व्यवस्थित तरिकाले राखिनेछ र पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूलाई इन्डोर हाउस भित्र राखेर उपयोगमा ल्याइने योजना रहेको बताए ।
बजारका मुख्य चोक र सडकहरूमा फोहोर देखिन थालेपछि नगरपालिकाले यसलाई निकै गम्भीरताका साथ लिएको छ । अधिकृत थापाले भने, “हामी भोलिदेखि स्वयंसेवकहरू सहित घर–घरमा पुग्छौँ ।
सम्पूर्ण सिद्धार्थनगरबासीहरूलाई आफ्नो घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरेर यो अभियानमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।”
यो अभियान सफल भएमा सिद्धार्थनगरको फोहोर समस्या दीर्घकालीन रूपमा समाधान हुने र सहर स्वच्छ तथा सुन्दर बन्ने थापाको भनाइ छ ।
थापाले विभिन्न योजनाहरू सुनाउँदै गर्दा भने भैरहवाको चोकमा थुप्रिएको फोहोर कहिले उठ्ने बारे कुनै ठोस जवाफ दिन सकेनन् । नगरपालिकाले घरधुरी, व्यावसायिक प्रतिष्ठान तथा होटल व्यवसायीहरूलाई फोहोर छुट्टाएर सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको थियो ।
सोही बमोजिम पनि स्थानीय तथा व्यवसायीहरूले फोहोर पाल्न रोकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यको भनाइ छ । तर यसरी धेरै दिन सम्म रोक्न गाह्रो हुने आचार्यको चिन्ता छ ।
नगरलाई सफा राख्नु सबै नगरबासीको दायित्व भएको र जथाभाबी सडकमा फोहोर फाल्दा जिम्मेवार नागरिकको छविमा असर पुग्ने भएकाले व्यवसायीहरूले हाल यो नियम पालना गरिरहेको उनले बताए ।
आचार्यले पूर्व मेयर हरि अधिकारीको पालामा एसियाली विकास बैङ्कको करिब ३५ करोड लगानीमा ओमसतिया क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना राजनीतिक दलहरूको स्वार्थका कारण सफल हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।
अहिले त्यो स्थान त्यतिकै उपयोग विहीन रहेको हुँदा नगरपालिकाले यसलाई पनि विकल्पको रूपमा प्रयोग गर्नुपर्ने उनले सुझाए । घर र व्यवसायको फोहोर १०–१५ दिनभन्दा बढी समय थुपारेर राख्न सम्भव नहुने भएकाले नगरपालिकाले तत्काल सबै राजनीतिक दलहरूसँग समन्वय गरी दीर्घकालीन फाल्ने ठाउँको पहिचान गर्नुपर्नेमा जोड दिँदै उनले फोहोर व्यवस्थापनको विषयमा नगरपालिकासँग आवश्यक समन्वय र छलफलका लागि संघ तयार रहेको बताए ।