© 2026
सल्लेरी (सोलुखुम्बु) । जिल्लाको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ ।
नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीय स्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याई ग्रामीण पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले जानकारी दिए ।
नेचासल्यान गाउँपालिकाको ८० लाख रुपैयाँ लागतमा साहसिक खेल जिपलाइन, साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यूप्वाइन्ट गरी पाँच प्रकारका मनोरञ्जनस्थल निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बिना राईले बताइन् ।
योजना निर्माणका लागि कालिका निर्माण सेवासँग गाउँपालिकाले २०८२ साउन ११ गते सम्झौता गरेको नेचासल्यान गाउँपालिका पूर्वाधार विकास शाखाका इन्जिनियर सुजन शर्माले जानकारी दिए । उहाँका अनुसार २०८२ चैतमा योजना सम्पन्न गर्ने लक्ष्यअनुसार योजना सम्पन्न गरी नयाँ वर्षको अवसर बनाएर यही २०८३ वैशाख १ गते गाउँपालिकालाई हस्तान्तरण गरी ५५० मिटर लम्बाइको जिपलाइन उद्घाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष राईले उद्घाटन गर्नुभएको जिपलाइनमा वैशाख १ गते नयाँ वर्षको दिन परीक्षणका लागि सञ्चालनमा ल्याएको थियो । सो दिन एक सय जना बढीले साहसिक खेल जिपलाइन खेलेर मनोरञ्जन लिएका थिए ।
नेचासल्यान गाउँपालिका–१ गौरीटाप र सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेको सिमानामा पर्ने गौरीटापमा निर्माण गरी वैशाख १ गतेदेखि सञ्चालनमा आएको जिपलाइनलाई नियमित रूपमा सञ्चालन गर्न ठेक्का आह्वान गरी आधिकारिक संस्थालाई जिम्मा दिने गाउँपालिकाले जनाएको छ ।
यसको कुल आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई रकम जाने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको पत्ताले र गौरीटाप क्षेत्रबाट सगरमाथालगायत विभिन्न मनमोहक हिमशृंखला हेर्न वा देख्न सकिन्छ । पछिल्लो समय सो क्षेत्र पर्यटकीय ‘हब’ बन्दै गएको छ ।