© 2026
गुल्मी ।
कालीगण्डकी कोरिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरूले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।
वर्सायामको समयमा खोलामा पुल नुहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका सवारी र यात्रुहरूलाई अव राहत मिल्ने भएको छ । कालीगण्डकी कोरिडोर, गौँडाकोट, राम्दी मालढुङगा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गर्न लागिएको बताएका छन् ।
तेलीका अनुसार गुल्मी खण्डमा बडहरे खोला, दिहिङखोला, बौदी खोला, हास्मादीखोला,बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल बन्ने भएका छन् । गुल्मीसँगै बागलुङ खण्डको दुई र पाल्पा खण्डको एक गरी कुल १० वटा पुल निर्माण गर्न लागिएको हो । यस्तै कालीगण्डकी लोक मार्ग स्याङ्जा, पर्वत खण्डमा चार वटा पक्की पुल बन्ने भएका छन् । कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेर आगामी आर्थिक वर्षमा १४ वटा पुलको निर्माण कार्य अगाडि बढाउने गरी बजेटको माग गरिएको कार्यालयले जनाएको छ । उक्त १४ वटा पुल सम्पन्न गर्नका लागि ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
पुलको डिजाइन सम्पन्न गरी बहु वर्षीय ठेक्काका लागि बजेटको व्यवस्थापन गर्नका लागि विभागमा लेखी पठाएको उनको भनाइ छ । उक्त खोलामा आवश्यकता अनुसार १५ देखि ४० मिटर सम्मकाको लम्बाई रहेका पुलहरू बन्नेछन् भने सबै पुलको चौडाइ भने ११ मिटरको रहने छन् । दैनिक बुटवल पुर्तिघाट सवारी चलाउने चालक दीपक न्यौपानेले कोरिडोरका खोलामा पुल नहुँदा बर्सायामको समयमा जोखिम मोलेरै यात्रा गर्न आफूहरू बाध्य भएको बताए । खोलामा पुल नहुँदा सवारी र यात्रुहरूको ज्यानसँगै आफू पनि जोखिममै रहेर यात्रा गर्न असहज हुने गरेको उनको भनाइ छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गतको २४० किलो मिटर सडकमध्ये राम्दी रानीमहल सडक खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त सडक खण्डको काम भइरहेकाले आगामी आर्थिक वर्षमा काम सम्पन्न हुने लक्ष्य लिएको तेलीले बताए ।
यस्तै सोही कार्यालयले हेर्ने गरी कालीगण्डकी लोक मार्गको मिर्मी- सेतीवेणी- फलेबास -अर्मादी खण्डको ५३ किलोमिटर सडकको पनि काम द्रुत गतिमा भइरहेको छ ।