© 2026
भैरहवा ।
रुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई रु. १ हजार दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन् ।
चन्दका अनुसार पक्राउ परेकामाथि मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत थप अनुसन्धान कार्य जारी रहेको छ ।