Butwal Today
लुम्बिनीका विद्युतीय बस

विमानस्थलले चाहँदा पनि अन्यत्र: बढ्यो विवाद

२८ चैत्र २०८२, शनिबार
अ+
अ-

भैरहवा । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि करिब पाँच वर्षअघि एसियाली विकास बैङ्कको सहयोगमा ल्याइएका विद्युतीय बसहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएपछि अहिले ती बसहरू अन्य जिल्लामा पठाउने तयारी गरिएको विषयले स्थानीय तहमा चर्को विवाद निम्त्याएको छ ।

विशेष गरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ती बसहरूलाई ‘सटल सेवा’ का रूपमा सञ्चालन गर्ने प्रस्ताव राख्दासमेत बेवास्ता गरिएको भन्दै सरोकारवालाहरू आक्रोशित बनेका छन् ।

लुम्बिनीका स्थानीय अर्जुन कुर्मीले लुम्बिनी विकास कोष र नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै बसहरू लुम्बिनी क्षेत्रमै सञ्चालन गर्नुपर्ने अडान राखेका छन् ।

उनले लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय महत्त्व बोकेको पर्यटकीय क्षेत्रका लागि ल्याइएका आधुनिक विद्युतीय बसहरूलाई सोही क्षेत्रमै व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने बताए । भैरहवा विमानस्थललाई समेत प्राथमिकता नदिई अन्यत्र वितरण गर्ने निर्णयले राज्यको प्राथमिकता र स्थानीय आवश्यकताबिचको दूरी उजागर गरेको कुर्मीको भनाई छ । उनले अडान लिए–“लुम्बिनीका बस लुम्बिनीमै चल्नुपर्छ । यसको लागि हामी हदै सम्मको आन्दोलनमा जानु परे पनि जान्छौँ ।”

लुम्बिनी विकास कोषले ५ वटा विद्युतीय बसहरू नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । बस अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राङ्गणमा राखिएका छन् । ५ वटा बस मध्ये २ वटा पोखरा, १÷१ वटा धनगढी, सुर्खेत र नेपालगन्ज लैजाने तयारी रहेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहले बसहरू भैरहवामै सञ्चालन गर्न सकिने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि नै विमानस्थलले ती बसहरू माग गरेको भए पनि प्रक्रिया अगाडि बढ्न सकेन ।

महाप्रबन्धक साहले “लुम्बिनीको नाममा आएका बसहरू लुम्बिनीमै चल्नुपर्ने” भन्दै कम्तीमा दुई वटा बस विमानस्थललाई उपलब्ध गराउन माग गरेका छन् । उनका अनुसार यसले विमानस्थल र लुम्बिनीबिच यात्रु आवतजावत सहज बनाउनुका साथै बस ल्याउनुको मूल उद्देश्यसमेत पूरा हुने थियो ।

एक साताअघि ती बसहरू काठमाडौँ लैजाने तयारी भएपछि स्थानीय स्तरमा विरोध चर्किएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि बस पठाउने प्रक्रिया रोकिएको थियो भने चैत १८ र १९ गते दुई दिनका लागि परीक्षण स्वरूप बस सञ्चालनसमेत गरिएको थियो । ती बसहरू बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रुटमा गुडाइएका थिए ।

तर चैत २० गते लुम्बिनी विकास कोषले पत्रसहित सबै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बुझाएपछि पुनः अन्योल सिर्जना भएको हो । लामो समयदेखि सञ्चालनविहीन अवस्थामा रहेका बसहरूको मर्मत सम्भार चुनौतीपूर्ण बनेको छ । बसका सिसा फुटेका छन्, एसी बिग्रेको छ, टायरहरू पुराना भएका छन् ।

विमानस्थलमा अस्थायी रूपमा बस चलाइरहेका गोपाल विश्वकर्माले अन्य बसहरू भन्दा यो बस अत्याधुनिक र सुविधायुक्त रहेको बताए । बसमा १९ सिट छ भने उभिँदा ३५ जनासम्म अटाउँछन् ।

पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ । स्वचालित ढोका छन्, आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एक पटक फुलचार्ज गरे ४ सय किमी गुड्छ । आपत्कालीन ठुलठुला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेल बटन छ । थिच्नासाथ चालकनिर रहेको बत्ती बल्छ ।

विमानस्थलका महाप्रबन्धक साहले बसलाई भैरहवा विमानस्थलले सञ्चालन अनुमति पाए बसमा रहेका सबै समस्याहरूको मर्मत गरी सञ्चालन गर्ने बताए । “लुम्बिनीमै यसको चार्जिङ्ग स्टेसन छ, त्यहाँ रहेका उपकरण हामी यही लगाएर बस सञ्चालन गर्न सक्छौँ”, साहले भने “अन्य मर्मत गर्नुपर्ने र फेर्नुपर्ने उपकरण पनि विमानस्थलले फेरेर बस सञ्चालन गर्न तयार रहेको छ ।”

२०७७ मङ्सिर–पुसमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत करिब १३ करोड रूपैयाँ लागतमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान लुम्बिनी ल्याइएका थिए । तर सञ्चालन कार्यविधि, जनशक्ति र कानुनी अस्पष्टताका कारण ती सवारी साधन प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?