© 2026
भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न क्यासिनोमा गरिएको चेकजाँचका क्रममा ६ जनालाई जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यही चैत २५ गते राति करिब १० बजे रुपन्देहीको मणिग्राम स्थित सिएमजी क्लब क्यासिनोमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न सर्लाही बरहथवा नगरपालिका–८ निवासी ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ निवासी ४१ वर्षीय अजय के.सी रहेका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
यस्तै जुवा खेल्ने कार्यमा संलग्न बुटवल उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय गोविन्द शर्मा, वडा नम्बर ९ निवासी ३५ वर्षीय वासुदेव गौतम, सोही स्थानका ३५ वर्षीय कृष्ण गौतम तथा वडा नम्बर ११ निवासी ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ पक्राउ परेका चन्दले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद २ लाख १७ हजार ३९० रुपैयाँ, भारतीय नगद ३ हजार ५०० रुपैयाँ, क्यासिनो कोइन (भारु) १ लाख २५ हजार, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरेको जनाएको छ।घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको चन्दले जनाए ।