Butwal Today

यातायात सेवा कार्यालय भैरहवाद्वारा ३२ करोडभन्दा बढी राजस्व सङ्कलन

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

भैरहवा । 

यातायात व्यवस्था सेवा कार्यालय, भैरहवाले चालु आर्थिक वर्षमा ३२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी माधव कोइरालाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को चैत २३ गतेसम्ममा कूल ३२ करोड ४८ लाख ८८ हजार ९८५ रुपैयाँ राजस्व असुली भएको हो । यसमध्ये सवारी करतर्फ २८ करोड ३१ लाख ६३ हजार ८८५ रुपैयाँ र पटके करतर्फ ४ करोड १७ लाख २५ हजार १०० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।

उक्त अवधिमा कार्यालयले १८ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको जनाएको छ । चैत महिनामा कर भुक्तानी तथा सवारी नवीकरणको चाप बढ्ने भएकाले सेवाग्राहीको सङ्ख्या अन्य महिनाको तुलनामा बढी हुने गरेको कार्यालयले जनाएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ निवासी ओमप्रकाश विश्वकर्माले मोटरसाइकल नवीकरण गर्न यातायात व्यवस्था सेवा कार्यालय, भैरहवा सेवा केन्द्र पुग्दा यस पटकको अनुभव भने फरक रहेको बताए ।

पहिले सरकारी कार्यालयको सेवा लिँदा लामो लाइन, झन्झटिलो प्रक्रिया र समयको खर्च हुने गरेको अनुभव बोकेका विश्वकर्मा यस पटक भने छक्क परे । “न त कुनै निवेदन लेख्न लगाइयो, न फाराम नै भर्नुप¥यो, लाइन पनि थिएन,” उनले भने, “टोकन लिएर बस्दा केही मिनेटमै काम सकियो, सरकारी सेवा यति सहज पनि हुँदो रहेछ ।”
उनका अनुसार भैरहवा सेवा केन्द्रमा पछिल्लो समय उल्लेखनीय सुधार भएको छ । विशेष गरी दक्षिणी क्षेत्रका सेवाग्राहीका लागि यो सेवा केन्द्र “वरदान” साबित भएको उनको भनाइ छ । “समय र खर्च दुवै बचत भयो, घर नजिकै सेवा पाएको अनुभूति भयो,” उनले प्रतिक्रिया दिए ।

विश्वकर्माले सेवा अझ प्रभावकारी बनाउन एक द्वार प्रणाली लागू गर्न सुझाव दिएका छन् । “राजस्व बुझाएको स्थानमै सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने व्यवस्था मिलाइए अझै सहज हुन्थ्यो,” उनले भने ।

कार्यालयले सेवा प्रवाहलाई सहज र झन्झटमुक्त बनाउन प्रक्रियागत सुधार गरेको जनाएको छ । सेवाग्राहीले अब निवेदन लेख्नुपर्ने बाध्यता हटाइएको छ भने सवारीको बिल बुक र बिमासम्बन्धी कागजात पेस गरेपछि सोझै नवीकरण हुने व्यवस्था गरिएको सूचना अधिकारी कोइरालाले बताए ।

यसबाट बिचौलियाको आवश्यकता घटेको र सेवाग्राही सन्तुष्टि बढेको कार्यालयको भनाइ छ । कार्यालयमा दैनिक औसत ६० देखि ७० जनासम्म सेवाग्राही आउने गरेका छन् भने चापको समयमा यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ ।

कार्यालयले सवारी नवीकरण र कर भुक्तानीको म्यादबारे सचेत रहन सेवाग्राहीलाई आग्रह गरेको छ । सवारी ऐनअनुसार तोकिएको समयभित्र कर नतिरेमा २० प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था रहेको जनाइएको छ । त्यसैले समयमै कर भुक्तानी गरी जरिवानाबाट जोगिन सबैलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?