Butwal Today

होटल पौवाको १० औँ वार्षिकोत्सव: देशभर स्वाद उत्सव

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालिले स्थापनाको १० वर्ष पूरा गरेको छ ।

नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणा पत्र पठाइएको भण्डारीले बताए ।

रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।

छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ । “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ ।

एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो । “मिसन १००” संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताए ।

‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेका छ ।

होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।

नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम सहित गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए ।

नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवाका अधिकांस शाखाहरुमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ-२०८३’आयोजना हुने होटल पौवा बुटवल ब्रान्चका प्रमुख प्रकाश पाठकले जानकारी दिए ।

होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित बिभिन्न जातीजनजातीका चाड तथा पर्वहरुमा बिशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । भण्डारीका अनुसार दशैपछिको पूर्णीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्री जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा बिशेष उत्सव हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?