© 2026
भैरहवा । इस्तियाक अहमद खान र हरिप्रसाद अधिकारीका पछिल्ला अभिव्यक्तिहरूले सिद्धार्थनगर नगरपालिकाको नेतृत्व शैली र लोकतान्त्रिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
एकातिर वर्तमान मेयर आलोचकहरूको सूची बनाएको चेतावनीपूर्ण भाषामा प्रस्तुत भएका छन् भने अर्कोतिर पूर्व मेयर आफ्नै कार्यकालका उपलब्धिहरूबाट पन्छिन खोजेको देखिएको छ । यी दुवै प्रवृत्तिले सार्वजनिक नेतृत्वको उत्तरदायित्व र सहिष्णुतामाथि बहस चर्काएको छ ।
सोमबार भैरहवामा सिद्धार्थनगर नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र नगरपालिकाको आलोचना गर्नेहरू विरुद्ध कडा आक्रोश व्यक्त गरेका छन् । सार्वजनिक कार्यक्रममै बोल्दै मेयर खानले आफ्नो आलोचना गर्नेहरूको सूची नै तयार पारेको खुलासा गरेका हुन् ।
मेयर खानले फेसबुकमा नकारात्मक टिप्पणी गर्ने र नगरपालिकाको कामको आलोचना गर्ने व्यक्तिहरूलाई लक्षित गर्दै आफूसँग त्यस्ता १२–१४ जना व्यक्तिहरूको नामावली रहेको बताए । उनले भने, “मैले पनि लिस्ट बनाइसकेको छु, कति नेगेटिभ इनर्जी भएका मान्छे छन् । मेरो डायरीमा १२–१४ जनाको नाम छ, जसमा २–३ जना मुख्य छन् ।”
मेयर खानको अभिव्यक्ति लोकतान्त्रिक मूल्य–मान्यतासँग कत्तिको मेल खान्छ भन्ने प्रश्न उठ्छ । सार्वजनिक पदमा रहेका व्यक्तिले आलोचनालाई स्वाभाविक रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । तर “आलोचना गर्नेहरूको सूची बनाएको छु” भन्ने भनाइले असहमतिको आवाजलाई दमन गर्ने मनोविज्ञान झल्काउँछ ।
यस्तो अभिव्यक्तिले सामाजिक सञ्जालमा स्वतन्त्र अभिव्यक्ति दिने नागरिकहरूलाई त्रसित बनाउने जोखिम रहन्छ । आलोचना ‘नेगेटिभ इनर्जी’ मात्र होइन, सुधारको आधार पनि हुन सक्छ भन्ने तथ्यलाई नेतृत्वले स्वीकार गर्न नसक्नु चिन्ताजनक पक्ष हो ।
आलोचकहरूको व्यक्तित्व र शरीरसम्म लक्षित टिप्पणी गर्नु सार्वजनिक पदको मर्यादा विपरीत मात्र होइन, व्यक्तिगत आक्रमणतर्फ उन्मुख सङ्केत पनि हो । यसले नेतृत्वको धैर्यता र आलोचना सहने क्षमता कमजोर भएको सन्देश दिन्छ ।
लोकतन्त्रमा बलियो नेतृत्व भनेको आलोचना सुन्ने, त्यसलाई विश्लेषण गर्ने र आवश्यक सुधार गर्ने क्षमतामा निर्भर हुन्छ, न कि आलोचकहरूको सूची बनाउने प्रवृत्तिमा । हुन त मेयर खानले आलोचना गर्नेहरूको व्यक्तित्व र शरीर नै नकारात्मक भएको टिप्पणी गर्दै उनीहरूलाई सुधारिन र सकारात्मक ऊर्जाका साथ आउन चुनौती समेत दिएका छन् ।
आफू र नगरपालिकाका कर्मचारीमाथि लाग्ने गरेका भ्रष्टाचारका आरोपहरूप्रति सङ्केत गर्दै मेयर खानले प्रमाण भए समात्न चुनौती दिए । उनले भने, “तपाईँको दम छ भने यहाँ आउनुस्, हाम्रो गल्ती–कमजोरी समात्नुस् । कतै घुस खाएको छ भने समात्नुस्, सबैलाई छुट छ ।”
भ्रष्टाचारका आरोप प्रमाणसहित आउन चुनौती दिनु सकारात्मक देखिए पनि त्यसलाई प्रस्तुत गर्ने शैलीले नै विवाद निम्त्याएको छ । पारदर्शिता कायम गर्ने दायित्व नेतृत्वकै हो, नागरिकलाई चुनौती दिनु मात्र पर्याप्त हुँदैन, प्रणालीगत रूपमा विश्वास निर्माण गर्नु आवश्यक हुन्छ ।
आफू पनि मानव भएको र कहिलेकाहीँ रिसाएर बोल्ने गरेको स्वीकार गर्दै मेयर खानले आलोचना गर्नेहरूलाई आफ्नो शत्रु नठान्न आग्रह गरे । उनले भने , “हामी पनि यहीँ जन्मेका हौँ, कहीँ न कहीँ गल्ती भइरहेको छ । कहिले रिसाएर बोल्छौँ, हाकिम साहेबलाई गाली गर्छौँ, तर त्यसको मतलब हामी दुस्मन होइनौँ ।”
यता पूर्व मेयर अधिकारीको “म त निमित्त मात्र” भन्ने अभिव्यक्ति पनि उत्तिकै चर्चा पाएको छ । पहिलो दृष्टिमा नम्रता जस्तो देखिए पनि गहिरिएर हेर्दा यो जिम्मेवारीबाट पन्छिने प्रयासको रूपमा व्याख्या गर्न सकिने नगरवासीको भनाइ छ ।
“निर्वाचित नेतृत्वले आफ्ना कार्यकालका उपलब्धि र कमजोरी दुवैको स्वामित्व लिनुपर्छ । उपलब्धिको जस अरूलाई सुम्पिने तर असफलताको जिम्मेवारी अस्पष्ट बनाउने शैलीले नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठाउँछ”, नाम नबताउने सर्तमा कार्यक्रममा सहभागी एक नगरवासीले भने -झन् विकासका कामलाई व्यक्ति विशेषको योगदानमा सीमित गर्ने प्रवृत्तिले संस्थागत प्रणालीलाई कमजोर बनाउने खतरा रहन्छ । कुनै पनि सार्वजनिक परियोजना व्यक्तिगत प्रयासभन्दा बढी नीतिगत निर्णय, बजेट र संस्थागत संयन्त्रको परिणाम हुन्छ । यसलाई व्यक्ति केन्द्रित रूपमा प्रस्तुत गर्नु दीर्घकालीन रूपमा गलत सन्देश दिने उनको ठम्याइ रहेको छ ।
सिद्धार्थनगर नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । २३ करोड ९२ लाख ६९ हजार ३५३ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज हुने विश्वास गरिएको छ ।
नगरपालिका र स्काई राम सागर जेभी, चाबहिल, काठमाडौँबिच २०७८ असार २४ गते भएको सम्झौताअनुसार निर्माण सुरु गरिएको भवन निर्धारित समयभन्दा केही ढिला गरी २०८२ असोज ३० गते सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
आरसीसी फ्रेम संरचनामा निर्माण गरिएको भवन करिब चार कट्ठा क्षेत्रफलमा फैलिएको छ । भवनमा २६ वटा कोठा, कार्यपालिका तथा नगरसभाका लागि छुट्टै हल, बेसमेन्ट पार्किङ, दुई लिफ्ट तथा अग्नि सुरक्षा प्रणाली जडान गरिएको छ । बेसमेन्टमा २० कार र १३० मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता रहेको थापाले बताए ।
भवनका विभिन्न तल्लामा प्रशासनिक शाखा व्यवस्थापन गरिएको छ । भुईँ तल्लामा आठ, पहिलो तल्लामा छ, दोस्रो तल्लामा सात र तेस्रो तल्लामा चार शाखा रहनेछन् । एउटै छानामुनिबाट सेवा प्रवाह हुने भएकाले नगर बासीलाई छिटोछरितो सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।