© 2026
भैरहवा । कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर आएको उक्त चार्टर विमान बेलुका साढे ७ बजे भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो ।
विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहका अनुसार ३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो (व्यागेज) ल्याइएको छ ।
साथै कुवेतमा निधन भएका नौ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत ल्याइएको उनले जानकारी दिए ।
मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) का रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरेको थियो ।
साहका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो । कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको उनले बताए ।
महाप्रबन्धक शाहका अनुसार यसअघि चीनबाट आएको उडानमा पनि उल्लेख्य संख्यामा यात्रु आएका थिए, तर ३ सय १८ यात्रु संख्या अहिलेसम्मकै उच्च रहेको छ ।
यस अवतरणलाई विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक क्षमताको परीक्षणका रूपमा समेत लिइएको छ । रनवे, ट्याक्सी–वे, एप्रोन, एयरफिल्ड लाइटिङ प्रणाली तथा सञ्चार उपकरणहरू ठूला विमान सञ्चालनका लागि सक्षम रहेको विमानस्थल प्रशासनको दाबी छ ।
उक्त विमान भैरहवाबाट आजै राती पाकिस्तानको लाहोरतर्फ प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । लाहोरबाट आवश्यक कार्गो लिएर विमान पुनः कुवेत फर्कनेछ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण नेपाल–कुवेत सिधा हवाई सम्पर्क प्रभावित भइरहेका बेला उद्धार उडानमार्फत स्वदेश फर्किएका नेपालीलाई राहत पुगेको अपेक्षा गरिएको छ ।