© 2026
भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका करिब ३०० नेपाली नागरिकलाई चार्टर उडानमार्फत स्वदेश ल्याइने भएको छ ।
कुवेत एयरवेजको ‘बोइङ ७७७–३००’ वाइड बडी विमानले उनीहरूलाई लिएर बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरिसकेको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार कुवेतबाट उडेको उक्त विमान दिउँसो ४ः४५ बजे भैरहवामा अवतरण गर्नेछ ।
रावतका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो । उनले कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन लागिएको जानकारी दिए ।
यात्रुहरूलाई भैरहवामा अवतरणपछि सोही विमान साँझ ६ः१५ बजे पाकिस्तानको लाहोर तर्फ प्रस्थान गर्ने तालिका छ । सूचना अधिकारी रावतका अनुसार लाहोरबाट आवश्यक कार्गो सामग्री लिएर उक्त विमान पुनः कुवेत फर्कनेछ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण नेपाल–कुवेत सिधा हवाई सम्पर्क पछिल्लो समय असहज बन्दै गएको छ । उद्धार उडानमार्फत लामो समयदेखि कार्यस्थल तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली श्रमिक तथा सर्वसाधारणलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
इरानमा भएको आक्रमणपछि कुवेतबाट नेपाल उडान गर्ने कुवेत एयरवेज र जजिरा एयरवेज दुवैले नियमित उडान स्थगित गरेका छन् । कुवेत एयरवेजले साप्ताहिक पाँच उडान तथा जजिराले दुई उडान सञ्चालनको अनुमति पाएका छन् ।
सन् २०२२ अक्टोबर ३१ देखि नेपाल उडान सुरु गरेको कुवेत एयरवेजसँग हाल ३४ विमान छन् । यसले नेपालसहित ५६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ ।
भैरहवामा यसअघि कतार एयरवेज, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिसकेका छन् । त्यसैगरी नेपालका हिमालय एयरलायन्स र नेपाल एयरलायन्सले पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गरिसकेका छन् ।ख