Butwal Today

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नयाँ ब्यागेज ह्यान्डलिङ प्रणाली सञ्चालनमा

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधालाई लक्षित गर्दै आधुनिक ब्यागेज ह्यान्डलिङ प्रणाली सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमका बिच नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्णले उक्त सेवाको उद्घाटन गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार सार्वजनिक खरिद नियमावलीअनुसार टेन्डर प्रक्रियामार्फत उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको हो । यसअघि आन्तरिक उडानतर्फ प्रस्थान र आगमनका लागि एउटै साँघुरो करिडोर प्रयोग गर्नुपर्दा यात्रुहरुलाई आवतजावत तथा सामान व्यवस्थापनमा असहजता हुने गरेको थियो ।

सो समस्यालाई समाधान गर्ने उद्देश्यले पुरानो भवनको नवीकरण गरी फराकिलो स्थानमा नयाँ ब्यागेज ह्यान्डलिङ प्रणाली जडान गरिएको साहले जानकारी दिए । उनका अनुसार अब यात्रुले आफ्नो सामान छिटो, व्यवस्थित र सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

विमानस्थल प्रशासनले यात्रु सेवामा थप सुधार ल्याउने योजनाअनुसार आन्तरिक टर्मिनल क्षेत्रमा वातानुकूलित (एसी) सेवा जडानको तयारी पनि पूरा गरिसकेको छ । उक्त कार्यका लागि आवश्यक टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र केही दिनभित्रै जडान कार्य सुरु हुने साहले जानकारी दिए ।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै आन्तरिक उडानका यात्रुको चाप व्यवस्थापनमा सहजता आउने, सेवा प्रवाह छरितो हुने तथा समग्र यात्रु अनुभवमा सुधार आउने विश्वास गरिएको छ ।

विमानस्थल प्रशासनले सेवा अभिवृद्धिलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनमा थप पूर्वाधार तथा प्रविधिमैत्री सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?