© 2026
भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक बालकलाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार शुद्धोधन गाउँपालिका–१ शिसै निवासी ६० वर्षीया रेनु पटवारको हत्या प्रकरणमा संलग्न १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिइएको हो ।
यहि चैत ३ गते बिहान करिब ७ बजे आफ्नै पसलभित्र पटवार मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहार, टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा मृतकसँग चुरोट खरिद गर्ने क्रममा विवाद हुँदा चैत २ गते राति करिब ११ बजे सोही पसलमा रहेको कैंची प्रयोग गरी ती बालकले आक्रमण गरी हत्या गरेको खुलेको चन्दले जानकारी दिए । घटना पश्चात् अभियुक्त फरार रहेका थिए ।
प्रहरीले उनलाई चैत ७ गते नियन्त्रणमा लिई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलबाट एक थान फलामको कैंची र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।