© 2026
भैरहवा ।
लुम्बिनीमा शनिबार सम्पन्न चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावकले वर्चस्व कायम गरेका छन् । नेपाल ओलम्पिक कमिटि सहित लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र नेपाल स्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा आयोजित प्रतियोगिताको मुख्य विधा “फुल म्याराथन” मा आर्मीका धावक पहिलो, दोस्रो र तेस्रो भएका हुन् ।
त्रिभुवन आर्मी क्लबका धावक बिनोद रोकायाले निर्धारित दूरी पार गर्दै ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे । उनले ४२।१९५ किलोमीटरको दुरि २ घण्टा १७ मिनट ५५ सेकेण्डमा पार गरे । आर्मीकै सुशील कुमार शाही दोस्रो हुँदै २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले उक्त दुरि २ घण्टा १८ मिनट १६ सेकेण्डमा पार गरे । आर्मीकै नरेन्द्र सिंह रावत तेस्रो हुँदै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले उक्त दुरि २ घण्टा १९ मिनट ५८ सेकेण्डमा पार गरे ।
महिला तर्फको २१ किलोमिटर हाफ म्याराथनमा पनि आर्मीकै खेलाडीहरूको उत्कृष्ट प्रदर्शन रह्यो । उक्त बिधामा त्रिभुवन आर्मी क्लबको पूर्ण लक्ष्मी न्यौपाने प्रथम हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी जितिन । धादिङ्गकि सन्तोषी श्रेष्ठ दोस्रो हुँदै १ लाख रुपैया र आर्मीकी निशा सार्की तेस्रो हुँदै ८० हजार रुपैया प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए ।
नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको म्याराथनमा नेपाल सहित भारत, अमेरिका नाइजेरिया लगायत देशबाट ६ सय बढी धावकहरूको सहभागिता रहेको थियो । लुम्बिनी स्क्वायरबाट सुरु भएको ४२.१९५ किलोमिटरको दौड पुनः लुम्बिनीमै पुगेर समापन भएको थियो ।
शान्ति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पुरस्कार वितरण गरेका थिए ।