Butwal Today

अखाद्य भण्डारण र कृत्रिम अभाव नगर्न उद्योग वाणिज्य सङ्घको आग्रह

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

भैरहवा ।  मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर र नेपालमा हुनसक्ने पेट्रोलियम पदार्थको अभावको आशङ्काप्रति सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ता र व्यवसायी दुवैलाई संयमित हुन आग्रह गरेका छन् ।
अहिले बजारमा ग्यास आपूर्तिमा केही सङ्कुचन देखिए पनि पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा तत्कालै कुनै गम्भीर समस्या नरहेको सङ्घले स्पष्ट पारेको छ। तर, इन्धनको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने जोखिमप्रति सङ्घले सचेत गराएको छ।

व्यवसायीलाई अतिरिक्त लाभको लोभमा वस्तुहरू लुकाउने (होल्ड गर्ने) नगर्न र मौज्दात रहेका सामान सहज रूपमा उपभोक्तालाई उपलब्ध गराउन आग्रह गरिएको छ। उपभोक्तालाई पनि अभाव हुने डरले आवश्यकताभन्दा बढी ग्यास तथा खाद्यान्न भण्डारण नगर्न अनुरोध गरिएको छ।

नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा सङ्कटको बेला आपूर्ति प्रणालीलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिँदै सङ्घले सरकारसँग इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्ने माग राखेको छ ।

यस्तै बजारमा प्रभावकारी समन्वय, अनुगमन र नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने पनि सङ्घको माग छ । “वर्तमान विषम परिस्थितिमा सम्पूर्ण व्यवसायीहरूले सेवा भावका साथ सहयोग पुर्याउन र उपभोक्ताहरूले समेत अनावश्यक सञ्चिति नगर्न हामी हार्दिक आग्रह गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?