Butwal Today

१७ औँ लियो कर्पोरेट सुपर सिक्स क्रिकेट ३० गते देखि

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा आगामी फागुन ३० गते शनिवार मेगा केमिकल्स इन्ड्रष्ट्रिज १७ औँ लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

सिद्धार्थ रङ्गशाला, भैरहवामा आयोजना हुने एक दिने प्रतियोगितामा यस  ८ वटा प्रतिष्ठित बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहने आयोजकले बिहीबार भैरहवामा  पत्रकार सम्मेलनको आयोजना गरि जनाएका छन् ।

जसमा नविल  बैङ्क, सानिमा बैङ्क, सेन्ट्रल फाइनान्स, आईसिएफसी फाइनान्स, महालक्ष्मी विकास बैङ्क, गरिमा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क र हिमालयन बैङ्क रहेका छन् ।

प्रतियोगिताका कार्यक्रम संयोजक ज्ञान प्रकाश जैसवालका अनुसार कर्पोरेट हाउसहरूबिच आपसी भाइचारा र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । भैरहवाको इतिहासमै छुट्टै पहिचान बनाएको यस कर्पोरेट टुर्नामेन्टबाट सङ्कलित बचत रकम सामाजिक कार्यमा खर्च गरिनेछ, जैसवालले बताए ।

विगत १६ वर्षदेखि प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको छ । यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजकमा मेगा केमिकल्स इन्ड्रष्ट्रिज र सह–प्रायोजकमा युनिभर्सल कलेज अफ मेडिकल कलेज रहेका छन्।

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन हुने खेलहरू बिहान ८ बजेदेखि सुरु भई सोही दिन समापन गरिने क्लबका अध्यक्ष विमल गौतमले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ पाउने छ । यसका साथै विधागततर्फ प्लेयर अफ द सिरिज, वेस्ट ब्याटर, वेस्ट बलर, वेस्ट फिल्डर, प्रत्येक खेलमा प्लेयर अफ द म्याच, अनुशासित टिम, प्रथम दर्ता हुने टिमलाई विशेष अवार्ड प्रदान गरिनेछ।

विगत २१ वर्षदेखि वातावरण, युवा, स्वास्थ्य र मधुमेह जस्ता क्षेत्रमा क्रियाशील लियो क्लब अफ सिद्धार्थनगरले यस खेलकुदको माध्यमबाट सामाजिक सेवाका लागि कोष सङ्कलन गर्ने लक्ष्य समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?