© 2026
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो ।
विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । रु ४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
“यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था थियो,” वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिक रूपमा मारमा परेका थिए ।”
स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताए । बोरिङ जडानले यस क्षेत्रका तीन सय बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।