Butwal Today

बन्द हुनै लागेको विद्यालय सुधारतर्फ

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

सल्यान   ।

कतिपय मानिसहरूले जन्मदिनका अवसरमा पार्टी, भोजभतेर वा अन्य फजुल खर्च गरेर मनाउने गर्दछन् । तर समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले आफ्नो जन्मदिनलाई अरूको जीवनमा खुसी थप्ने अवसरका रूपमा प्रयोग गर्छन् ।

सल्यानका एक सरकारी कार्यालय प्रमुखले यस्तै एक उदाहरण प्रस्तुत गर्दै आफ्नो जन्मदिनलाई असहाय बालबालिकाको सहयोग गरेर मनाएका छन् ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाले शारदा नगरपालिका, ५ तल्लो मार्केमा रहेको जनकल्याण प्राथमिक विद्यालयको छात्रावासमा अध्ययनरत असहाय छात्रछात्राका लागि खाद्यान्न तथा नगद सहयोग प्रदान गरेर जन्मदिन मनाएका हुन् ।

उनले छात्रावासमा बस्दै आएका बालबालिकालाई ३ बोरा चामल, १ कार्टुन खाने तेल, १८ किलो दाल तथा नगद ८ हजार रुपैयाँ सहयोग प्रदान गरेको विद्यालयले जनाएको छ ।

कार्यालय प्रमुख थापाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको शिक्षामा सहयोग गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।

जनकल्याण प्राथमिक विद्यालयमा जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमै छात्रावाससहितको शिक्षा सेवा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ । हाल उक्त छात्रावासमा ३१ जना असहाय बालबालिका बसोबास गर्दै आएका छन् भने विद्यालयमा ९३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आवास व्यवस्थापनका लागि स्थानीय गङ्गाराम रोकाले आफ्नै घर उपलब्ध गराउँदै आएका छन् । यसअघि पनि शारदा नगरपालिका तथा विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण ओलीको पहलमा विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूले खाद्यान्न, कपडा, स्टेशनरीलगायत आवश्यक सामग्री सहयोग गर्दै आएका छन् ।

उक्त विद्यालयमा शारदा नगरपालिकाको १० लाख रुपैयाँ लगानी तथा स्थानीय जनश्रमदानबाट छात्रावासका लागि आफ्नै भवन निर्माण कार्यसमेत भइरहेको छ । कुनै समय बन्द हुने अवस्थासम्म पुगेको यो विद्यालय अहिले भने क्रमशः सुधारतर्फ अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?