Butwal Today

मतदान तरिका नबुझ्दा बढ्यो बदर मत: कहाँ चुक्यो मतदाता शिक्षा ? 

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बुटवल  ।  भर्खरै मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रदेश निर्वाचन कार्यालयका अनुसार यहाँ १ लाख बढी मत बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचनाका अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका १२ वटा जिल्लामा खसेको कुल १९ लाख ५२ हजार ८ सय ६४ मत मध्ये १ लाख दुई हजार ९ सय ५६ मत बदर भएको हो ।

प्रदेशभरमा करिब ५.२७ प्रतिशत मत बदर भएको पाइएको छ । जिल्लागत कुरा गर्ने हो भने लुम्बिनीमा झन्डै पाँच प्रतिशत मत बदर भएको छ भने कपिलवस्तुमा सबैभन्दा धेरै मत बदर भएको निर्वाचनको मतगणना विवरणले देखाएको छ ।

खास गरी मतदाता शिक्षाको न्यून प्रभावको कारण बदर मतको प्रकृति हेर्दा एउटै मत पत्रमा दुई वटा वा दुई भन्दा बढी मत सङ्केत गरेको पाइएको छ ।

विशेष गरी मतपत्रमा सही तरिकाले मतदान गर्ने तरिकाबारे पर्याप्त जानकारी नपुग्दा मत बदर भएको हो । स्थानीय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा अझै मतदाता सचेतना पर्याप्त नपुगेको देखिन्छ ।

आयोगको स्वीकृत कार्य तालिकाअनुसार फागुन ३ गतेदेखि प्रदेशका १२ जिल्लाअन्तर्गत रहेका सबै स्थानीय तहका वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । देशभरका ६ हजार ७४३ वटै वडामा एकैसाथ सञ्चालन गरिएको अभियान अन्तर्गत लुम्बिनी प्रदेशका सबै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका थिए ।

लुम्बिनी प्रदेशमा झन्डै ३४ लाख मतदाता छन् । १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र अन्य मतदाता ३८ जना गरी कुल ३३ लाख ८६ हजार ६८० जना रहेकोमा अधिकांशमा मतदाता शिक्षा नपुगेको बदर मतले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?