Butwal Today

विद्यार्थीको आत्मविश्वास बढाउन नमुना एसइई परीक्षा 

२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

सल्यान, २५ फागुन । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ ले सोमबार देखी नमुना एसइई परीक्षा सुरु गरेको छ ।

विद्यार्थीलाई सहज र आत्मविश्वासी बनाउन नमुना परीक्षा सञ्चालन गरिएको वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए ।

वडा भित्रका महेन्द्र मावि पाखापानीका २२ जना र त्रिभुवन जनता मावि चौरपानीका १८ जना गरी जम्मा ४० जना विद्यार्थी यस परीक्षामा सहभागी भएका छन् । विद्यार्थीहरूमा परीक्षाप्रति उत्साह देखिएको छ भने अभिभावकहरूले पनि यस्ता अभ्यास परीक्षाले वास्तविक परीक्षामा राम्रो नतिजा ल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

वडा अध्यक्ष बस्नेतका अनुसार यस प्रकारको नमुना परीक्षा विगतका वर्ष देखि नै सञ्चालन हुँदै आएको छ ।

विद्यार्थीको शैक्षिक सुधार र आत्मविश्वास बढाउन सहयोगी बनेपछि यस वर्ष पनि वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नमुना परीक्षा सञ्चालन गरिएको उनको भनाई छ । उनले भने, “विद्यार्थीलाई परीक्षा प्रणालीमा अभ्यस्त गराउन र उनीहरूको सिकाई स्तर सुधार गर्नका लागी यस्ता अभ्यास परीक्षाहरू महत्त्वपूर्ण छन् । आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइनेछ ।”

नमुना परीक्षामा प्रश्न पत्र तयार पार्ने, उत्तर पुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने प्रक्रियालाई वास्तविक परीक्षाको ढाँचामा सञ्चालन गरिएको बस्नेतको भनाई  छ ।

अबको एसइई परीक्षामा  विद्यार्थीलाई समय व्यवस्थापन, प्रश्न बुझ्ने क्षमता र उत्तर लेख्ने शैलीमा सुधार गर्ने शिक्षकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?