© 2026
नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ जीतको नजिक पु¥याएका छन् ।
रास्वपाको यो जीतलाई उसप्रतिको आकर्षण भन्दा पनि पुराना दलहरूप्रतिको तीब्र असन्तुष्टी हो भन्दा अत्युक्ति हुँदैन । जनताले यस पटक विद्रोह गरेका छन् । जनता केही नयाँ र फरक चाहन्छन् भन्ने यो निर्वाचनको सन्देश पनि हो ।
पुराना दल र नेता भन्दा नयाँ पार्टीबाट केही हुन्छ कि भन्ने विश्वासमा जनताले यस पटक रास्वपा लाई परीक्षण गरेका छन् । निश्चित रूपमा लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो । यो परिणामलाई लिएर पुराना दल निराश हुने र नयाँ दलमा दम्भ पलाउने अवस्था नआओस् ।
जनताले सबै दललाई परीक्षण गरे । अव परीक्षाको घडी रास्वपाको आएको छ । भोलिको दिनमा सबैलाई परीक्षण गर्दै गर्दा जनताले फेरी अर्को नयाँ पार्टीलाई परीक्षण गर्ने दिन नआओस् । अव संसद्मा पुग्ने नयाँ पुराना यिनै दलले मिलेर देश अघि बढाउनुपर्ने आवश्यकता छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने पनि यो निर्वाचनको परिणामले देखाएको छ ।
राजनीति शास्त्रको यो सिद्धान्त नेपालका राजनीतिमा संयोग मात्र होइन यथार्थ वनेको छ । रात रहे अग्राख पलाए भनेको सायद यही हो । वास्तवमा विगतमा पटक पटकको सत्ताको उलटपुलटमा नेपाली जनताको आशा र अपेक्षामाथि तुषारापात भैरहेको थियो । सत्ताको अगाडी जनताको आशा र अपेक्षा धुमिल परिरहेको थियो ।
आशा गरौं अव रास्वपा सरकारले पाँच बर्ष एकछत्र शासन गर्नेछ । त्यसो त नेपालमा धेरै सरकार बने, नयाँ सरकारबाट जनताले त्यही आशा र अपेक्षा गरे तर जनताका आशा र अपेक्षामाथि बिश्वासघात भएको अवस्था थियो भन्ने कुरा यो निर्वाचनको परिणाम साक्षी बनेको छ । २०४६ सालयता बनेका कुनैपनि सरकारले जनताको अपेक्षा पूरा गर्न सकेनन् ।
बरु जनतामाथि सरकारबाटै दोहनको काम भयो । नेपाली जनताकै त्याग र बलिदानबाट मुलुक यहाँसम्म आइपुगेको अवस्थामा जनताले सरकारसँग यति आशा गर्नु कुनै ठूलो अपेक्षा थिएन ।
यद्यपी केही नभएको भन्नु पुराना राजनैतिक दलहरूप्रति ठूलो अन्याय हो । दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरेको अथक संघर्ष बिर्सने काम कदापि गर्नुहुँदैन । खास कुरा के हो भने जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा सरकार सधै छायाँमा पर्दै आएको अवस्थाप्रतिको अहिलेको निर्वाचनको परिणाम विद्रोहमात्रै हो ।
विगतका सरकारका काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्बत्र गुनासो चुलिएको थियो । सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको थियो ।
पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरूपयोग गरिँदा त्यसको असर विकासमा पर्न गएको कुरा अव मनन गर्नु जरुरी छ । बेथिति र मनपरीलाई आत्मसात गरिँदा सरकारका कार्यशैलीबाट जनतामा निराशा मात्रै बढाइरहेको अवस्था थियो ।
अव जनतालाई आश्वासन होइन, तत्काल राहत चाहिएको छ । नेताहरू देशको विकास र परिवर्तन भन्दा पनि कुर्सीको लागि र आफ्नो स्वार्थ पूरा गर्नैको लागि रहेछन भन्ने कुरा जनताको मनभित्र आगोको भुसजस्तै दन्किरहेको थियो । जनताको रोजीरोटीको बिषय समाधान हुन सकेको थिएन् ।
संघीय स्वरूपको राजनीतिक प्रणाली स्थापना भएपनि आम नागरिकको शान्ति, सुशासन र विकासको सपना पूरा भएको थिएन । अव पछिल्लो चुनावी परिणामले जनताको आशालाई निरासामा परिणत गर्ने काम नहोस् । जनताले विश्वास गरेर पठाएका प्रतिनिधिहरूले जनताको विश्वास तोड्ने काम नगरुन् । अव पुराना दलहरू सच्चिनुपर्दछ ।
अझैपनि समय छ । पाँच बर्षपछि जुन दलले राम्रो काम गर्छ, जनताले उही दललाई जिताउनेछन् । यो निर्वाचन दलहरूलाई बेलैमा सच्चिने बाटो पनि हो । जनताको गुनासो सम्बोधन गर्नेतर्फ दलहरूको आँखा खुलोस ।