Butwal Today

प्रतिनिधिसभा निर्वाचन: मतदानअघि जान्नैपर्ने मूख्य विषय

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-

बुटवल । भ्रष्टाचारविरुद्ध र सुशासनका लागि भन्दै जेन जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको प्रतिनिधिसभाको चुनावमा फागुन २१ गते बिहीवार मतदान हुँदै छ।

२०८४ का लागि निर्धारित आमचुनाव २०८२ मै हुन लाग्दा विगतमा भन्दा यस पटक मतदाताको सङ्ख्या बढेको छ भने सुरक्षा व्यवस्था पनि बढाइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

चुनावपछि नयाँ निर्वाचित सरकार बन्ने छ र प्रतिनिधिसभा पनि नयाँ निर्वाचित सांसद्हरूसहित बन्ने छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्न लागेको हो।

 

यो चुनाब कस्तो हो ?

व्यवस्थापिका संसद्का दुई सदनमध्ये अहिले तल्लो सदन प्रतिनिधि सभाको चुनाव हुन लागेको हो।

प्रतिनिधि सभामा प्रत्यक्ष मतदान प्रणाली अन्तर्गत १६५ जना सदस्य निर्वाचित भएर आउने छन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट छानिएर आउनेछन्।

प्रतिनिधि सभाले खासगरी सरकार निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्ने काम गर्छ।

चुनावमा मतदान गर्न जाने मतदाताले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले दुईवटा मतपत्रमा मतदान गर्नुपर्नेछ।

एउटा उम्मेदवार र अर्को पार्टीका लागि मत दिनुपर्नेछ। प्रत्यक्षतर्फ, सबैभन्दा बढी मत पाउने उम्मेदवार नै विजयी हुन्छ भने समानुपातिक तर्फ, मतदाताले राजनीतिक दललाई खसालेको मतको हिसाब गरेर पाएको कति मत बराबर एक सिट हुन्छ भन्ने तय हुन्छ।

त्यसका लागि आआफ्ना समानुपातिक उम्मेदवारहरूको सूची दलहरूले आयोगमा बुझाइसकेका छन्।

समावेशीकरणका साथै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिक सिट सङ्ख्याको व्यवस्था संविधानले नै गरेको छ।

 

१ करोड ८५ लाख ३ हजार ६८९ मतदाता

निर्वाचन आयोगका अनुसार चुनावको अघिल्लो दिन फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या १ करोड ८५ लाख ३ हजार ६८९ रहेको छ।

त्यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ रहेका छन् भने महिला मतदाता ९२ लाख ४० हजार १३१ रहेका छन्। त्यस्तै २०० जना अन्य रहेका छन्।

निर्वाचन आयोग अन्तर्गत ७० वटा जिल्ला निर्वाचन कार्यालय रहेका छन्।

यसपटक मुस्ताङबाट डोल्पा जाने बाटोमा पर्ने एउटा मतदान केन्द्रमा मत खसाल्न आउने गाउँमा जम्मा ३९ जना मतदाता रहेको आयोगले जनाएको छ।

ती मध्ये पनि जम्मा ४ जना मतदातामात्रै गाउँमा रहेको र उनीहरूका लागि चुनाव गराउन कम्तीमा २० जना जनशक्ति लाग्ने आयोगले जनाएको हो।

सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणीको जिल्ला निर्वाचन अधिकारी ती निर्वाचन कार्यालयका प्रमुखका रूपमा रहनेछन्।

आयोगका अनुसार देशभरि ३,४८७ उम्मेदवार छन् भने ती मध्ये करिब १२०० भन्दा बढी व्यक्तिले कुनै पार्टीबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

त्यस्तै ३,४८७ उम्मेदवारमध्ये २ हजार ५ सय ८९ पुरुष उम्मेदवार छन् भने चुनावी प्रतिस्पर्धामा जम्मा करिब १० प्रतिशत अर्थात् ३९१ जना महिला उम्मेदवार रहेका छन्।

यस्तै, यसपटक निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचित १६५ सिटको मतपेटिका संकलन भएको २४ घण्टाभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको सबै मतपरिणाम फागुन २५ सम्म आइसक्ने बताएका छन्।

यसअघि २०७९ सालमा भएको चुनावमा अन्तिम परिणाम आउन दुई हप्ताभन्दा केही बढी समय लागेको थियो।

चुनावी सुरक्षाका लागि सम्भावित आपराधिक गतिविधि हुनसक्ने कुरालाई मध्यनजर गरी सुरक्षाकर्मीको सङ्ख्या बढाइएको गृहमन्त्रालयले जनाएको छ।

यसपटक निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका करिब ७५ हजार र नेपाली सेनाका करिब ७९ हजार सैनिक खटिएका गृहमन्त्रालयले जनाएको हो।

त्यस्तै सशस्त्र प्रहरीका साढे ३४ हजारभन्दा केही बढी र निर्वाचन प्रहरीका रूपमा करिब एक लाख ३४ हजार सुरक्षाकर्मीहरू खटिएका अधिकारीहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?