Butwal Today

रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र बनाउने लक्ष्य: पौडेल

१८ फाल्गुन २०८२, सोमबार
अ+
अ-

नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रूपन्देहीका उम्मेदवार विष्णुप्रसाद पौडेल यतिबेला चुनावी मैदानमा व्यस्त छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई समेट्दै समग्र विकासको खाका प्रस्तुत गरेको छ । प्रस्तुत छ, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँग गरिएको अन्तर्वार्ताको सम्पादित रुप ।

– तपाईंले यसपटकको उम्मेदवारीलाई “समृद्धि र सामाजिक न्यायको अभियान” भन्नुभएको छ । यसको मूल भाव के हो ?
मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर रूपन्देहीलाई विकासको राष्ट्रिय र अग्रणी केन्द्र बनाउने अभियान हो । हामीले विगतमा सडक, पुल, अस्पताल, औद्योगिक क्षेत्र, खेलकुद पूर्वाधार जस्ता आधारहरु तयार गरेका छौँ । अब त्यो आधारमाथि गुणस्तरीय सेवा, रोजगारी र उत्पादन वृद्धि गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने चरणमा प्रवेश गर्नुपर्छ । विकासको लाभ सबै समुदाय, सबै वर्ग र सबै वडासम्म पुगोस् भन्ने हाम्रो मूल उद्देश्य हो ।

– तपाईंले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । रूपन्देहीलाई कसरी शैक्षिक केन्द्र बनाउने योजना छ ?
रूपन्देहीलाई विद्यालयदेखि उच्च शिक्षासम्म आत्मनिर्भर बनाउने लक्ष्य छ । विद्यार्थीहरूलाई अन्यत्र जान नपर्ने गरी गुणस्तरीय शिक्षाको वातावरण तयार गर्न भौतिक पूर्वाधार र दक्ष जनशक्ति दुवै सुदृढ गरिन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी बिदेशी विद्यार्थी आकर्षित गर्ने, बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै नेतृत्वदायी क्याम्पस बनाउने र लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधिको मानित विश्वविद्यालयका रूपमा रूपान्तरण गर्ने योजना छ ।
साथै, प्राविधिक शिक्षा र इन्जिनियरिङ तथा कृषि क्याम्पस स्थापना गरी बजारको मागअनुसार जनशक्ति उत्पादन गर्नेछौँ । “पढ्दै काम गर्दै” नीतिअनुसार इन्टर्नसिप र उद्योगसँगको सहकार्य बढाइनेछ ।

– स्वास्थ्य क्षेत्रमा पनि तपाईंका योजना महत्वाकांक्षी देखिन्छन् । मुख्य प्राथमिकता के हो ?
उपचारका लागि राजधानी र अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य हो । सैनामैना र तिलोत्तमाका आधारभूत अस्पतालहरूको स्तरोन्नति, सामुदायिक मुटु र आँखा अस्पतालहरुको सुदृढीकरण, बुटवल मेडिकल कलेज निर्माण, निशुल्क रक्तसञ्चार सेवा र प्रभावकारी स्वास्थ्य बिमा प्रणाली कार्यान्वयनमा जोड दिनेछौँ । आयुर्वेद र प्राकृतिक चिकित्सा प्रवद्र्धन पनि सँगसँगै अघि बढाउने छौं ।

– रोजगारी सिर्जनालाई कसरी व्यवहारमा उतार्नुहुन्छ ?
रूपन्देहीलाई सूचना प्रविधि र डिजिटल सेवाको हब बनाउने स्पष्ट योजना छ । सफ्टवेयर विकास, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा युवालाई सहुलियत कर्जा, कर छुट र स्टार्टअप सिड फन्ड उपलब्ध गराइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहजीकरण गरिनेछ । लघुउद्यम, साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गरी स्वरोजगारी बढाइनेछ ।

– पूर्वाधारतर्फ तपाईंले राष्ट्रिय राजमार्गदेखि स्थानीय सडकसम्मका योजना राख्नुभएको छ । कुन आयोजना सबैभन्दा महत्वपूर्ण मान्नुहुन्छ ?
सबै आयोजना महत्वपूर्ण छन्, तर सिद्धार्थ राजमार्गको स्तरोन्नति र सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग सम्पन्न हुनु रणनीतिक रूपमा अत्यन्तै आवश्यक छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा सिग्नेचर पुल, बेलबास–बेथरी सडक विस्तार र सैनामैना चक्रपथ सम्पन्न गर्ने कामले क्षेत्रीय कनेक्टिभिटी बढाउँछ । हामी बुटवल–तिलोत्तमा–सैनामैनालाई महानगरीय ढाँचामा जोडेर “ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट” कार्यक्रम सञ्चालन गर्नेछौँ ।

– उद्योग र व्यापार प्रवद्र्धनका लागि के कस्ता कदम चाल्नुहुन्छ ?
मोतीपुर औद्योगिक क्षेत्र पुनःरेखाङ्कन गरी निर्माण गर्नेछौँ । बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार र व्यवस्थापन सुधार हुनेछ । बुटवल धागो कारखानालाई सार्वजनिक–निजी साझेदारीमार्फत आधुनिक प्रविधिसहित सञ्चालनमा ल्याइने छ । बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय व्यापार सहज हुनेछ । साना, मझौला र ठूला उद्योगका लागि नीतिगत सुरक्षा र ऊर्जा आपूर्ति सुनिश्चित गरिनेछ ।

– कृषि क्षेत्रलाई कसरी व्यावसायिक बनाउने सोच राख्नु भएको छ ?
सेमलार कृषि उपज थोक बजार निर्माण सम्पन्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नेछौँ । स्थानीय हाटबजार स्तरोन्नति र कृषि उपजमा आधारित उद्योगलाई प्रोत्साहन गरिनेछ । सिँचाइ प्रणाली सुदृढीकरण, तिनाउ–दानव नदी नियन्त्रण र लामीरह बहुउद्देश्यीय उच्च बाँध निर्माणले कृषि उत्पादन बढाउनेछ ।

– पर्यटन र सांस्कृतिक क्षेत्रको विकासबारे के कस्ता योजना छन् ?
लुम्बिनी क्षेत्रको समग्र विकास हाम्रो प्राथमिकतामा छ । लुम्बिनी गुरुयोजना पूर्ण रुपमा कार्यान्वयन गरिने छ । तिलौराकोट–रामग्राम–देवदह–सैनामैना जोड्ने बृहत् योजना निर्माण गरिनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।
जितगढी किल्ला, मणिमुकुन्द सेन दरबार, पुरानो बुटवलको सम्पदा क्षेत्र, विभिन्न धाम, मठमन्दिर र गुम्बाहरूको संरक्षण र पूर्वाधार विकास गरिनेछ । तिनाउ नदी किनारमा आरती र छठ स्थल निर्माणले धार्मिक पर्यटनलाई टेवा दिनेछ ।

– रूपन्देहीमा भूमि समस्या लामो समयदेखि जटिल विषय बनेको छ । यसको समाधान कसरी गर्नुहुन्छ ?
भूमि समस्या सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय हो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनु राज्यको दायित्व हो । हामीले यसबीचमा कानुन संशोधन गर्‍यौँ, आयोग बनायौँ । यो जिल्लामा ३५–४० हजार घरधुरीको नापजाँचको काम सम्पन्न भइसकेको थियो । केही ठाउँमा बाँकी थियो, केही ठाउँमा लालपुर्जा वितरणको काम सुरु भइसकेको थियो । यसैबीचमा २३–२४ भदौको घटनाबाट सरकार बदलियो । नयाँ सरकारले भूमि आयोग विघटन गर्‍यो र काम रोकियो ।
काम रोकिएपछि आयोगका साथीहरू सर्वोच्च अदालत जानुभयो । सर्वोच्चले आयोगलाई पुनर्स्थापित गरिदिएको छ । अब दिगो र भरपर्दो समाधानको सम्मुखमा आइपुगेका छौँ । केही महिनाभित्रै यो समस्याको स्थायी समाधान निस्किन्छ भन्ने मलाई विश्वास छ । भूमि समस्या समाधान आयोगमार्फत सुरु भएका नापजाँच र अभिलेखीकरणका कामलाई तीव्रता दिइनेछ । कोदाले, बिटौरी, गुठी, सहरी ब्लक, गाउँ ब्लकलगायतका जटिल प्रकृतिका मुद्दालाई कानुनी र प्रशासनिक समन्वयमार्फत समाधान गरिनेछ । साथै, सार्वजनिक जग्गाको संरक्षणमा कडाइ गरिनेछ ताकि अतिक्रमण रोकियोस् र योजनाबद्ध सहरी विकास सम्भव होस् ।

– सिँचाइ, नदी नियन्त्रण र पहिरो व्यवस्थापनका विषयमा नि ?
रूपन्देहीका लागि तिनाउ र दानव नदी अवसर पनि हुन्, चुनौती पनि । तल्लो सिद्धबाबादेखि हुलाकी सडकसम्म पक्की तटबन्ध, आरसिसी संरचना र बेडबार निर्माण गरी बस्ती संरक्षण गरिनेछ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनतर्फ अघि बढाइनेछ । यसले सिँचाइ, खानेपानी, जलविद्युत् र पर्यावरणीय सन्तुलनमा दीर्घकालीन लाभ पुर्‍याउँछ । चुरे क्षेत्रका पहिरो प्रभावित बस्तीहरूमा वैज्ञानिक अध्ययनका आधारमा संरचना निर्माण गरिनेछ । यसले विपत् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउँछ ।

– विद्युत् र ऊर्जा सुरक्षामा यहाँको प्राथमिकता के हो ?
ऊर्जा नै औद्योगिक र आर्थिक विकासको मेरुदण्ड हो । आगामी ५० वर्षको माग धान्ने गरी कर्साघाटमा १३२/३३ केभी सब–स्टेशन निर्माण गरिनेछ । बुटवल, तिलोत्तमा र सैनामैनामा भूमिगत केबल प्रणाली लागू गर्दै विद्युत्, इन्टरनेट र सडक बत्ती आधुनिक तरिकाले व्यवस्थापन गरिनेछ । बस्तीभित्र रहेका हाइटेन्सन लाइनहरू सुरक्षित स्थानमा सारिनेछन् । स्वच्छ र दिगो ऊर्जा प्रवद्र्धनमा पनि जोड दिदै सौर्य ऊर्जा र वैकल्पिक ऊर्जा परियोजनालाई सहजीकरण गरिनेछ ।

– सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासबारे के सोंच्नु भएको छ ?
आजको अर्थतन्त्र सूचना प्रविधिमा आधारित छ । रूपन्देहीलाई आईटी हब बनाउने लक्ष्यसहित मोतीपुर औद्योगिक क्षेत्रभित्र सूचना प्रविधि केन्द्र स्थापना गरिनेछ । सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइनेछ । स्थानीय सञ्चारगृहहरूको सबलीकरण, पत्रकारहरूको क्षमता अभिवृद्धि र समानुपातिक विज्ञापन वितरण सुनिश्चित गरिनेछ । डिजिटल गभर्नेन्सलाई प्रवद्र्धन गर्दै सरकारी सेवा अनलाइन प्रणालीमार्फत छरितो र पारदर्शी बनाइनेछ ।

– सामाजिक सुरक्षा र समावेशी विकासका विषयमा यहाँको दृष्टिकोण के हो ?
विकास समावेशी हुनुपर्छ । महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक र उत्पीडित समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ । समान कामको समान ज्याला सुनिश्चित गर्ने, श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी बनाउने, तथा सिपमूलक तालिममार्फत प्रतिस्पर्धी क्षमता वृद्धि गर्ने योजना छ । हाम्रो लक्ष्य आर्थिक समृद्धि मात्र होइन, विभेदरहित, न्यायपूर्ण समाज निर्माण र सामाजिक रूपान्तरण पनि हो ।

– वन तथा वातावरण संरक्षणलाई आर्थिक विकाससँग कसरी जोड्नुहुन्छ ?
हरित अर्थतन्त्र आजको आवश्यकता हो । वनजंगल संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धन गरिनेछ । ट्रेकिङ ट्रेल, वन भ्रमण मार्ग र जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण र समुदायमा आधारित वन व्यवस्थापन सुदृढ गरिनेछ । छाडा चौपाया व्यवस्थापन र गौशाला सुदृढीकरण पनि वातावरणीय सन्तुलनसँग जोडिएको विषय हो । हामी चक्रीय, हरित र जैविक अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै दिगो विकास सुनिश्चित गर्नेछौँ ।

– समग्र आर्थिक विकासका लागि तपाईंको दीर्घकालीन भिजन के हो ?
रूपन्देहीलाई उद्योग, पर्यटन, सेवा, कृषि र वित्तीय क्षेत्रबीच समन्वित आर्थिक केन्द्र बनाउने हाम्रो दीर्घकालीन योजना छ । बैंक तथा वित्तीय संस्थाको सुदृढीकरण, पुँजी बजार सुधार, सहकारी व्यवस्थापनमा पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि गरिनेछ । मानवीय पुँजीमा आधारित अर्थतन्त्रको विकास गर्दै रोजगारी–उत्पादन–आयवृद्धिको सकारात्मक चक्र सिर्जना गरिनेछ । यसले रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख इन्जिन बनाउने छ ।

– निर्वाचित हुनुभयो भने, कुन मुख्य कामलाई प्राथमिकता दिनु हुनेछ ?
१२ सय शैयाको १२ तले लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन, सिद्धबाबा सुरुङमार्ग र प्रमुख सडक स्तरोन्नति कार्य तीव्रता, मोतीपुर औद्योगिक क्षेत्र पुनःसंरचना र लगानी आह्वान, आईटी हब स्थापना र युवा स्टार्टअप कार्यक्रम सुरुवात, भूमि समस्या समाधान प्रक्रिया तीव्र पार्दै प्रमाणपत्र वितरण लगायतका कामलाई प्रमुख प्राथमिकतामा राखेको छु । यी कामले विकासको स्पष्ट सन्देश दिनेछन् र रूपन्देहीलाई तीव्र समृद्धिको मार्गमा अघि बढाउनेछन् ।

– अनि खेलकुद क्षेत्रको विकासबारे ?
रूपन्देहीलाई स्पोट्र्स हब बनाउने हाम्रो योजना छ । अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गरिनेछ सिद्धार्थ क्रिकेट रंगशाला र एन्फा फुटबल एकेडेमी स्तरोन्नति गरिनेछ । खेल पर्यटनमार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र गतिशील बनाइनेछ ।

– सुशासन र पारदर्शिताका विषयमा यहाँको के प्रतिबद्धता छ ?

म स्पष्ट रूपमा भन्छु– भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता । सार्वजनिक प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउने, नियमित जनसुनुवाइ गर्ने र प्रगति प्रतिवेदन सार्वजनिक गर्नेछु । नीति निर्माणदेखि कार्यान्वयनसम्म जनसहभागिता र जननिगरानी सुनिश्चित गर्नेछु । तीनै तहका सरकारबिच समन्वय बढाउने छु ।

– अन्त्यमा, मतदातालाई के सन्देश दिनु हुन्छ ?
रूपन्देहीसँग अपार सम्भावना छ । हामीले आधार तयार गरिसकेका छौँ, अब तीव्र गतिमा समृद्धिको चरणमा प्रवेश गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, कृषि, खेलकुद र सुशासन–यी सबैलाई समन्वित गर्दै रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र बनाउने मेरो स्पष्ट लक्ष्य छ । म रूपन्देहीका आम मतदातालाई आग्रह गर्दछु– समृद्ध र न्यायपूर्ण भविष्यका लागि विवेकपूर्ण निर्णय लिनुहोस् । तपाईंहरूको विश्वास र समर्थनले मात्र यो अभियान सफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?