© 2026
भैरहवा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदाताहरूले आफ्ना प्राथमिकता र अपेक्षा स्पष्ट रूपमा व्यक्त गर्न थालेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ का मतदातासँग गरिएको संवाद र प्राप्त प्रतिक्रियाका आधारमा यस पटकको निर्वाचन सामाजिक सुरक्षा, कृषि, पूर्वाधार विकास र नेताको आचरणका विषयमा केन्द्रित देखिएको छ ।
वृद्ध मतदाताहरूका लागि सामाजिक सुरक्षा भत्ता प्रमुख मुद्दा बनेको छ ।
उनीहरूका अनुसार नियमित रूपमा प्राप्त हुने वृद्ध भत्ताले दैनिकी चलाउन सहयोग पुगेको छ । कोटहीमाई गाउँपालिका वडा नम्बर १ का वृद्ध मतदाता राजमन कोहारले लामो समयदेखि निरन्तर पाउँदै आएको यो सुविधाका कारण पुरानो नेतृत्वप्रति उनको भरोसा कायम रहेको प्रतिक्रिया दिए । चुनावी प्रतिबद्धताभन्दा व्यवहारमा प्राप्त सुविधा नै मत निर्धारणको मुख्य आधार बन्ने उनको भनाई छ ।
युवा तथा मध्यम उमेर समूहका मतदाताहरू भने कृषि र नेतृत्वको इमानदारितामा बढी जोड दिइरहेका छन् । उनीहरू मल, बिउ र सिँचाइको सहज उपलब्धता, किसानमैत्री नीति र बोलेको कुरा कार्यान्वयन गर्न सक्ने नेतृत्वको खोजीमा देखिन्छन् ।
अवसरवाद, चाप्लुसी र दोहोरो अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै यस पटक मतदाताले नेताको व्यवहार र कार्यशैलीलाई आधार बनाएर निर्णय गर्ने सङ्केत दिएका छन् ।
ग्रामीण क्षेत्रका मतदाताहरूले भने वर्षौँदेखि दोहोरिँदै आएका समस्या समाधान नहुँदा निराशा व्यक्त गरेका छन् ।
सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधारको अवस्था जस्ताको तस्तै रहेको गुनासो उनीहरूको साझा आवाज बनेको छ । यद्यपि उनीहरू हाल मौन देखिए पनि मतदानका बेला आफ्नै विवेक प्रयोग गर्ने मनस्थितिमा रहेको प्रतिक्रिया आएको छ ।
कोटहीमाई गाउँपालिका वडा नम्बर २ बस्ने हरि प्रसाद पासीका अनुसार उनले अहिलेसम्म कुन पक्ष वा उम्मेदवारलाई मतदान गर्ने भन्ने निश्चित गरिसकेका छैनन् । उनले भने, “अहिलेसम्म कतै निर्धारण गरेको छैन । गाउँको माहोल र मानिसहरूको राय हेरेर नै निर्णय लिनेछु ।” उनले मतदानलाई व्यक्तिगत र मानसिक निर्णयको विषय बताउँदै समय आएपछि मात्रै आफ्नो मतको प्रयोग गर्ने बताए ।
लामो समयदेखि ठुला–ठुला नेता र प्रधानहरू चुनिए पनि गाउँको अवस्थामा खासै सुधार नआएकोमा प्रहलाद लोधले गुनासो गरे । विशेष गरी सडक र पूर्वाधारको अवस्था वर्षौँदेखि उस्तै रहेको उनको भनाइ छ । “धेरै प्रधानहरू आए र गए, तर सडकको हालत अझै उस्तै छ,” उनले थपे
मतदाताहरूले उम्मेदवारको नैतिकता र इमानदारिता लाई पनि निकै महत्वका साथ हेरेका छन् ।
विशेष गरी कृषि क्षेत्रमा निर्भर मतदाताहरूले मल, बिउ र सिँचाइको उचित व्यवस्थापन गर्न सक्ने र बोलेको कुरा पु¥याउने नेतृत्वको खोजी गरिरहेका छन् । “अघिल्लो दिन एउटा र भोलिपल्ट अर्को कुरा गर्ने चाप्लुसी गर्ने नेता भन्दा स्पष्ट दृष्टिकोण भएको व्यक्ति चाहिन्छ” स्थानीय प्रभु पासी भन्छन् ।
यस पटकको निर्वाचनमा मतदाताको मन सामाजिक सुरक्षा सुविधाको निरन्तरता र दीर्घकालीन विकासको अपेक्षाबिच दोधारमा देखिएको छ । वृद्ध मतदाताको भरोसा सुविधामा केन्द्रित रहँदा, युवा र किसान वर्ग परिवर्तन, इमानदार नेतृत्व र विकासको खोजीमा उन्मुख देखिन्छन् ।