© 2026
गुल्मी ।
गुल्मीमा प्रतिनिधि सभा निर्वाचन प्रयोजनार्थ उम्मेदवारहरूले बैङ्क खाता खोल्नका लागि अटेरी गरेका छन् ।
कुल ४३ जना उम्मेदवार मध्ये ३३ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैङ्क खाता खोलेका छन् भने १० जनाले बैङ्क खाता खोल्नका लागि पटक–पटक ताकेता गर्दा पनि खाता खोलेका छैनन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनमा उम्मेदवारहरूले अनिवार्य रूपमा बैङ्क खाता खोल्नका लागि निर्वाचन आयोगले आग्रह गरे पनि गुल्मीका उम्मेदवारहरूले बैङ्क खाता खोल्नका लागि आनाकानी गरेको पाइएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीका अनुसार गुल्मीमा प्रतिनिधि सभाका ४३ जना उम्मेदवारहरू मध्ये ३६ जनाले बैङ्क खाता खोल्नका लागि सिफारिस लगेको र ३३ जनाले मात्रै बैङ्क खाता खोलेका छन् ।
प्रत्येक उम्मेदवारलाई बैङ्क खाता खोल्नका लागि फोनमार्फत ताकेता गर्दै आएको उनको भनाइ छ । मुख्य दलहरूले बैङ्क खाता खोलेको र स्वतन्त्र उम्मेदवारका साथै नेपाल मजदुर किसान पार्टीलगायत केही साना दलहरूले खाता नखोलेकाले जतिसक्दो छिटो खाता खोल्नका लागि आग्रह गर्दै आएको उनको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत हरिप्रसाद गैरेले जिल्लामा आचारसंहिता पूर्ण रूपमा पालना भएको बताएका छन् । निर्वाचनका लागि आचारसंहिता पालना सम्बन्धी आफूहरूले सूक्ष्म रूपमा अनुगमन गर्दै आएको उनको भनाइ छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार संवेदनशील स्थलहरूमा सुरक्षालगायत अन्य हिसाबले पनि सबै प्रबन्ध मिलाइएको बताएका छन् ।
शान्ति सुरक्षाका हिसाबले आफूहरूले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरू सक्षम रहेको उनको दाबी छ ।
मतदान स्थलहरूलाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरूलाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यसअघि अन्तरजिल्लास्तरीय सुरक्षा बैठकहरू पनि सम्पन्न गरेकाले अन्तर जिल्लासँग पनि समन्वय भइरहेको गैह्रेले बताए ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् ।
जिल्लाभर १४५ वटा मतदान स्थल र २८४ वटा मतदान केन्द्र तोकिएको छ ।