Butwal Today

रुपन्देही–४ निर्वाचन: मर्चवारको मैदानमा अनुभव र परिवर्तनको जुहारी

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

भैरहवा  ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ यति बेला देशकै चासोको केन्द्रमध्ये एक बनेको छ ।

मधेसी–पहाडीको सामाजिक मिश्रण, सीमावर्ती भूगोल, कृषि–आधारित अर्थतन्त्र र तीव्र राजनीतिक सचेतनाले चिनिएको यस क्षेत्रमा चार जना प्रमुख उम्मेदवारबिच बहु आयामिक प्रतिस्पर्धा देखिएको छ ।

यस क्षेत्रमा नेपाली काँग्रेसका आशुतोष मिश्र, नेकपा (एमाले) का प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बानिया मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । यी बाहेक जनमतका भोपेन्द्र यादव, नेकपाका बाबुलाल यादव सँगै प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू पनि मैदानमा छन् ।

६६ हजार ६२ जना पुरुष मतदाता र ५० हजार ११० महिला मतदाता गरि जम्मा १ लाख १६ हजार १७२ जना मतदाता रहेको क्षेत्रमा ८० हजार आसपास मत खस्ने अनुमान छ । विश्लेषकहरूका अनुसार २५–३० हजार मत सुरक्षित गर्ने उम्मेदवार जित नजिक पुग्नेछन् ।

काङ्ग्रेसभित्रको नाटकीय टिकट सङ्घर्ष र ‘सङ्गठन कार्ड’

नेपाली काँग्रेसका हकमा अन्य चार वटै क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसक्दा पनि क्षेत्र नम्बर ४ मा अन्तिम घडीसम्म रस्साकस्सी चल्यो ।

पूर्व सांसद प्रमोद कुमार यादव र महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रबिच टिकटको लागि तीव्र प्रतिस्पर्धा भयो । कहिले यादवले टिकट पाएको चर्चा, कहिले मिश्रको नाम निश्चित भएको हल्लाबिच स्थानीय कार्यकर्ता नै अन्योलमा परे ।

अन्ततः टिकट हात पार्न सफल भए आशुतोष मिश्र । उम्मेदवार घोषणा भएसँगै काँग्रेसले ‘सङ्गठन मजबुती’लाई मुख्य चुनावी सन्देश बनाएको छ । मिश्रको राजनीतिक यात्रा पद–केन्द्रित भन्दा सङ्गठन–केन्द्रित मानिन्छ ।

पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएका उनी स्थानीय तहदेखि बुथ संरचनासम्मको सङ्गठन विस्तारमा सक्रिय रहँदै आएका छन् । २०७४ को निर्वाचनमा काँग्रेसले रुपन्देही–४ मा प्रतिनिधिसभा र दुवै प्रदेशसभा सिट जित्दा त्यसलाई ‘सङ्गठनको विजय’ का रूपमा व्याख्या गरिएको थियो ।

त्यस रणनीतिक व्यवस्थापन टोलीमा मिश्र अग्रपङ्क्तिमा रहेको काँग्रेस कार्यकर्ताहरू बताउँछन् ।  २०७४ मा तत्कालीन उम्मेदवार प्रमोद कुमार यादवको सारथी रहेका मिश्र अहिले उनै यादव विरुद्ध मैदानमा नेपाली काङ्ग्रेसकै टिकटमा प्रतिस्पर्धी बनेका छन् ।

उनको चुनावी एजेन्डा शिक्षा, कृषि, सिँचाइ, पूर्वाधार, स्वास्थ्य, पर्यटन र युवामुखी कार्यक्रमहरूमा केन्द्रित छ । सामुदायिक विद्यालय सुधार, मर्चवार लिफ्ट सिँचाइको पूर्ण व्यवस्थापन, चकियाघाट पुल निर्माण, रिङरोड परिकल्पना, २५ शैयाको अस्पताल स्तरोन्नति, कृषि बिमा, कोल्ड स्टोरेज सञ्चालनजस्ता योजना उनले सार्वजनिक गरेका छन् ।

काँग्रेसले यस पटक “सुदृढ सङ्गठन, स्थिर नेतृत्व र जनमुखी विकास” नारासहित अभियान चलाएको छ । मिश्रको बलियो पक्ष भनेको पार्टीभित्र ‘सेफ ह्यान्ड’को छवि, कार्यकर्ताबिच स्वीकृति र स्थानीय–केन्द्रीय सेतुको भूमिका हो ।

२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन उम्मेदवार प्रमोद कुमार यादव बिरुद्ध यिनी उभिएका थिए । स्थानीय तहको निर्वाचनमा यादवले नेपाली काँग्रेसका उम्मेदवारलाई नभई अर्कै पार्टीका उम्मेदवार गया बरईलाई समर्थन गरेको भन्दै मिश्र पक्षमा तीव्र रोष रहेको थियो ।

फलस्वरूप २०७४ को निर्वाचनमा विजयी भएको काँग्रेस २०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लसँग पराजित भयो ।

२८ हजार मत ल्याएका शुक्ल विजयी भए पनि काङ्ग्रेसबाट उम्मेदवार रहेका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ भने काँग्रेसले १८ हजार ८३२ मत प्राप्त गरेको थियो ।

एमालेबाट प्रमोद यादव: अनुभव, असन्तुष्टि र पुनरागमनको प्रयास

नेकपा एमाले रुपन्देहीको क्षेत्र नम्बर ४ मा सबै भन्दा कमजोर रहेको थियो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकमा २ हजार ८२३ मत प्राप्त गरेको थियो ।

तर अहिले रुपन्देही–४ मा एमालेको अवस्था फेरिएको छ । पूर्व सांसद प्रमोद कुमार यादव यस पटक नेकपा (एमाले) को टिकटमा मैदानमा छन् । २०७४ मा काङ्ग्रेसबाट निर्वाचित यादवले २०७९ मा पराजय बेहोरेका थिए ।

त्यसपछि पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले एमाले प्रवेश गरेका हुन् । उनी एमाले उम्मेदवार भएपछि अहिले ४ मा एमाले जागेको छ ।

यादवको राजनीति मधेस आन्दोलनदेखि सक्रिय रहेको छ । संसद्मा रहँदा उद्योग, वाणिज्य तथा आपूर्ति समितिमा सदस्यका रूपमा काम गरेका उनले ग्रामीण पूर्वाधार, सिँचाइ, स्वास्थ्य र विद्युतीकरणमा भूमिका खेलेको दाबी गर्छन् ।

उनको मुख्य चुनावी नारा “समृद्ध मर्चवार, सुखी मर्चवारबासी” रहेको छ । चार लेन सडक, मर्चवार लिफ्ट सिँचाइ, कृषि हाटबजार, शित भण्डारण केन्द्र, रिङरोड, अन्तर्राष्ट्रिय कुस्ती एकेडेमी, आँखा अस्पताल, तटबन्ध निर्माण, सर्पदंश उपचार केन्द्रजस्ता योजनालाई उनले प्राथमिकतामा राखेका छन् ।

यादवको बलियो पक्ष भनेको एमालेको सङ्गठित मत, मधेसी समुदायमा व्यक्तिगत पहुँच, मिलनसार छवि र पूर्व सांसदको अनुभव हो । काङ्ग्रेसबाट असन्तुष्ट मतदाता र यादव समुदायको समर्थन पनि उनको सम्भावित आधार मानिएको छ ।

तर पार्टी परिवर्तनलाई कतिपय मतदाताले अवसरवादका रूपमा व्याख्या गर्ने सम्भावना पनि उत्तिकै छ । २०७९ को पराजयपछि मतदाताको मनोविज्ञान पुनः आफ्नो पक्षमा फर्काउनुपर्ने चुनौती यादवसामु छ ।

अनुभवी मध्यमार्गी: सर्वेन्द्रनाथ शुक्लको स्थायित्व कार्ड

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल क्षेत्र नम्बर ४ का सबैभन्दा अनुभवी राजनीतिज्ञ मानिन्छन् । २०४८ र २०५१ मा राप्रपाबाट निर्वाचित भएका शुक्ल २०७९ मा लोसपाबाट विजयी बनेका थिए ।

शिक्षा र जलस्रोत लगायतका मन्त्रालय सम्हालिसकेका उनी संसदीय प्रक्रियामा दक्खल भएका बौद्धिक नेताका रूपमा परिचित छन् ।  उनको मुख्य एजेन्डा अधुरा योजनाहरू सम्पन्न गर्ने, प्राविधिक विद्यालय स्थापना, अस्पताल निर्माण, सिँचाइ विस्तार र आर्थिक सङ्कट समाधानतर्फ केन्द्रित छ ।

शुक्लले आफूलाई जिम्मेवार र अनुभवी मध्यमार्गी नेताका रूपमा प्रस्तुत गरेका छन् । नयाँ र पुरानो शक्तिबिचको द्वन्द्वमा स्थायित्व दिन सक्ने नेता आफू नै भएको उनको दाबी छ ।

उनको बलियो पक्ष भनेको परम्परागत मतदाता आधार, मधेस–केन्द्रित राजनीतिक पकड र सरकारी संरचनामा अनुभव हो । तर उमेर र नयाँ पुस्ताको अपेक्षासँग तालमेल मिलाउने चुनौती उनीसामु देखिन्छ ।

२०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल अलग अलग निर्वाचनमा जादा पनि शुक्लले विजयी निकालेका थिए । अहिले भने लोसपा र जसपा नेपाल एक भएका छन् । यसले पनि शुक्ललाई अझै बलियोसंग उभ्याएको छ ।

२०७९ मा शुक्लले २८ हजार मत र समानुपातिक तर्फ उनको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीले २२ हजार ३७ मत प्राप्त गरेको थियो ।

 रास्वपाबाट कन्हैया बानियाः परिवर्तन र युवा कार्ड

प्रदेश सभामा एक वर्ष बढीको म्याद बाँकी छदै प्रदेश सभा सदस्य पद र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा गरेका कन्हैया बनिया यस क्षेत्रका ‘परिवर्तनकारी’ राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा उदाएका छन् ।

पुराना दलहरूले देश बिगारेको आरोप लगाउँदै नयाँ सोच र युवा नेतृत्व आवश्यक रहेको उनको धारणा छ । पूर्वाधार विकास, चकिया घाट पुल, सिँचाइ व्यवस्थापन, छपियालाई मत्स्य हब बनाउने योजना, निःशुल्क स्वास्थ्य–शिक्षा, रोजगारी सिर्जना, भ्रष्टाचारमुक्त शासन उनको प्रमुख मुद्दा हुन् ।

युवा मतदाता, डिजिटल अभियान र परिवर्तनको चाहनालाई उनले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । तर सङ्गठनात्मक जडत्व र स्थानीय तहको पुरानो संरचनासँग प्रतिस्पर्धा गर्नु उनका लागि चुनौतीपूर्ण छ ।

केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मर्चवारी देवीको दर्शन गर्ने भन्दै उनले बालेनको रोड सो गराएका थिए । बालेन गाडीबाट झरेर देवीको दर्शन समेत नगरेको भन्दै उनकै कार्यकर्ता पनि त्यो घटनाबाट रुष्ट बनेका थिए ।

सामाजिक–भौगोलिक समीकरण

रुपन्देही–४ मा सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी, सियारी र लुम्बिनी सांस्कृतिक क्षेत्रका केही वडाहरू समेटिन्छन् । कृषि, सिँचाइ, मलखाद, सीमा व्यापार, बाढी–डुबान, रोजगारी र शिक्षा यहाँका प्रमुख मुद्दा हुन् ।

मधेसी, पहाडी, मुस्लिम, यादव, ब्राह्मण, दलित लगायत विविध समुदायको मिश्रणले चुनावी समीकरणलाई जटिल बनाएको छ । समुदायगत मत विभाजनभन्दा विकास–एजेन्डा र उम्मेदवारको पहुँच निर्णायक बन्ने सङ्केत देखिन्छ ।

यदि कांग्रेसको सङ्गठन बलियो रूपमा परिचालित भयो भने आशुतोष मिश्रले लाभ लिन सक्छन् । एमालेको एकीकृत मत र यादवको व्यक्तिगत पहुँच मजबुत रह्यो भने प्रमोद यादव अगाडि देखिन सक्छन् ।

शुक्लले आफ्नो स्थिर मत सुरक्षित राखे र नयाँ मत थपे भने उनी पनि दौडमा रहनेछन् । बानियाले युवा लहरलाई सङ्गठित मतमा रूपान्तरण गर्न सके समीकरण उल्टिन सक्छ ।

निर्वाचनको दिन नजिकिँदै गर्दा मतदाताको मनोविज्ञान निर्णायक बन्नेछ । विकासका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता, सङ्गठनात्मक क्षमता, व्यक्तिगत विश्वसनीयता र दलगत एकताले अन्तिम परिणाम निर्धारण गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?